अन्तर्राष्ट्रिय

राजतन्त्रको विरोध गर्ने सांसदलाई ६ वर्ष जेल, राजपरिवारविरूद्ध औँला पनि उठाउन नपाइने कानुन (भिडियोसहित)

बोल्नै नपाइने कस्तो राजतन्त्र ?


काठमाडौँ – राजतन्त्रको विरोध गरेको अभियोगमा थाइल्याडकी सांसद रक्छनोक श्रीनोकलाई ६ वर्षको जेल सजाय सुनाइएको छ । राज संस्था र राजाप्रति बोल्नेलाई कडा कानुन रहेको थाइल्यान्डमा उनी ६ वर्षका लागि जेल परेकी हुन् ।

थाइल्यान्ड त्यस्तो देश हो जहाँ राजा र राजपरिवारको विरोधमा कसैले पनि बोल्न पाइँदैन । विरोध गरेको सामान्य आरोपमै १५ वर्षसम्मको जेल सजाय हुन सक्छ । यस्तो कठोर कानुन अन्य राजतन्त्रात्मक देशमा विरलै पाइन्छ । तर यसका बाबजुद पनि अहिले प्रत्येक दिन जस्तो थाइल्यान्डमा राजतन्त्र विरोधी प्रदर्शन भइरहेका छन् ।

पछिल्लो पटक त थाइल्यान्डकी सांसद नै यसको सिकार बनेकी छन् । थाइल्यान्डमा विपक्षी दल मुभ फर्वार्ड पार्टीकी सांसद रक्छनोक श्रीनोक राजतन्त्रको विरोध गर्दा ६ वर्ष जेलको हावा खान बाध्य भएकी छन् । राजतन्त्रको विरोध गरेको अभियोगमा २९ वर्षीया श्रीनोकलाई त्यहाँको फौजदारी अदालतले जेल सजाय सुनाएको हो । थाइल्यान्डको फौजदारी अदालतले श्रीनोकले कम्प्युटर अपराध ऐन उल्लंघन गरेको ठहर गरेको छ ।

सन् २०२० मा श्रीनोकले सामाजिक सञ्जालमा लेखेको विषयलाई आधार बनाएर अपराध संहिताको धारा ११२ अनुसार सजाय सुनाइएको हो ।
थाइल्यान्डमा राजा रानी र उनीहरूका उत्तराधिकारीको विरोध गर्दा १५ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ । मानवअधिकारवादी थाइ वकिलहरूको संस्थाका अनुसार श्रीनोकले २०२० मा कोभिड खोपको खरिदबारे विरोध जनाउँदै एक्स(ट्वीटर)मा स्टाटस लेखेकी थिइन् । खोप खरिद गर्ने कम्पनी राजासँग सम्बन्ध जोडिएको थियो । उनले राजतन्त्रको विरोधमा गरेको ट्वीटलाई पनि रिट्वीट गरेकी थिइन् ।

श्रीनोक २०२३ मा मात्रै राजनीतिमा प्रवेश गरेकी थिइन् । त्यसअघि उनी सामाजिक अभियन्ता र सरकारको आलोचक थिइन् । कानुन प्रायः राजनीतिक असहमतिलाई दबाउन प्रयोग गरिन्छ । कानुनले राजा, उनको नजिकको परिवार र शासकको अपमान गर्नेलाई १५ वर्षसम्म जेल सजायको व्यवस्था गरेको छ । थाइल्यान्डमा राजतन्त्र र यसलाई संरक्षण गर्ने कानुनहरू पछिल्ला वर्षहरूमा दबाबमा परेका छन् । मानव अधिकारका लागि वकालत गर्ने समूह थाई वकिलहरू भन्छन् कि २०२० को सुरुवातदेखि २०० भन्दा बढी व्यक्तिहरूलाई धारा ११२ को उल्लङ्घन गरेको आरोप लगाइएको छ ।