Breaking

भिजिट भिसामार्फत विदेश जाने २० प्रतिशतको कागजात नक्कली


काठमाडौं । भिजिट भिसामार्फत विदेश जाने करिव २० प्रतिशतको कागजात नक्कली भएको पाइएको छ । एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा सङ्गठित रुपमा यसरी नक्कली कागजात बनाइ मानिसलाई भिजिट भिसामा विदेश पठाउने गरेको पाइएको छ ।

यसरी मिलेमतोमा विदेशिएका अधिकांश त्यहाँ घुम्नका लागि नभई कामका लागि जाने गरेका छन् । शङ्कास्पद कागजातसहित गएको असोजदेखि नै प्रहरीले अनुसन्धान थालेको थियो । सो क्रममा एक हजार पाँच सय १२ जनाका कागजात अध्ययन गर्दा त्यसमध्ये दुई सय ४६ कागजात प्रमाणपत्र, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरणलगायतका कागजात नक्कली देखिएको पाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।

यसैलाई आधार मानेर मिलेमतोमा संलग्न एजेन्ट, ट्राभल्स, एयरलाइन्स र अध्यागमनका कर्मचारीसहित ३५ जनाभन्दा बढीलाई विभिन्न मितिमा पक्राउ गरी सङ्गठित अपराध, लिखतसम्बन्धी कसुरसमेतका अपराधमा आवश्यक कारबाही थालिएको छ ।