Breaking

ओलीमाथि महेशको मुक्का, जँड्याहा हुन् कि पहिचानवादी ? खास भएको के हो ? (भिडियोसहित)


काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि बिहीबार धनकुटाको लेगुवामा आक्रमण भयो । झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा रहेको एमाले कोशी प्रदेश प्रवेश गरेसँगै ठाउँठाउँमा अभियान बिथाल्ने बिभिन्न प्रयासहरु भएका छन् । कोशी प्रदेश नामकरणको दोष दिएर पहिचानवादीहरुले एमालेलाई तारो बनाइरहेका छन् ?

यो दृश्य धनकुटा, लेगुवाको हो । समृद्धिका लागि संकल्प यात्राअन्र्तगत त्यहाँ पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एक व्यक्तिले मुक्का प्रहार गरेको देख्न सकिन्छ । नेता कार्यकर्ताहरु स्वागतका लागि फूलमाला लिएर बसेका बेला एक व्यक्ति भने पाखुरा सुर्किदै भिडमा छिरेको दृश्यमा देख्न सकिन्छ । ओली नजिकै पुगेका धनकुटा लेगुवाका महेश राईको मुक्का प्रहारबाट ओलीको चस्मा खस्छ ।

मुक्का हानेलगत्तै राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले समातेका थिए । उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनले किन मुक्का हानेका हुन् यसबारे भने खुलेको छैन । यद्यपि, पहिचानवादीबाट ओलीलाई सुरक्षा थ्रेट विगतदेखि नै थियो । आक्रमणपछि प्रहरीले ओलीलाई गाडीमै राखेर ‘स्कर्टिङ’ ग¥यो । फलतः कार्यकर्ताले ओलीको घाँटीमा लगाउन ल्याएको माला गाडीमै चढाए ।
कोशीमा आक्रमण हुनसक्ने पूर्वानुमान गरेरै एमालेले झुलाघाट–चिवाभन्ज्याङ यात्रा सुरु गर्नु अघि नै सरकारलाई सुरक्षाका लागि पत्र लेखेको थियो । तर तराईंका प्रहरी पहाड तान्दासमेत सुरक्षा दिन प्रहरी चुकेको छ । यात्रा रोक्न खोज्ने नौ जनालाई बुधबारै प्रहरीले पक्राउ गरेर सम्भावित घटनाबारे प्रहरी चनाखो बनेको देखिए पनि ओलीमाथि आक्रमण भयो । आफ्नो अधिकार खोज्न पहिचानवादी पक्षधरहरु आन्दोलित बनिरहदा शान्तिपूर्ण अभियान चलाइरहेको एमालेमाथि पहिचावादीहरुले धावा बोलेका छन् । तर शान्तिपूर्ण अभियानमा हिँडेको एमालेमाथि पहिचानवादीले अस्वभाविक ढंगको हर्कत देखाउनु चाहिँ आलोचित कृत्य हो ।

यद्यपि, नेकपा एमालेले भने अध्यक्ष ओलीमाथि आक्रमण नभइ मादक पदार्थको नसामा रहेका व्यक्तिबाट अस्वभाविक व्यवहार मात्र भएको भन्दै सामाजिक सञ्जालमा आएका विषयको खण्डन गरेको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गर्दै तथ्य नबुझी अनर्गल प्रचार नगर्न आग्रह गरेका छन् । मंगलबारदेखि कोशी प्रवेश गरेको एमालेको टोलीलाई अवरोध गर्न खोज्ने हालसम्म ३० जनाभन्दा धेरै पक्राउ परिसकेका छन् । पूर्वमा ओली आए चिहान खनेर गाड्छौं भन्नेसम्मका अस्वभाविक अभिव्यक्ति दिने पहिचानवादीका नेता पूर्वमन्त्री गोपाल किरातीसहित ५ जना थप पाँच दिन हिरासतमै रहनेछन् ।

कोशी प्रदेशसभामा ४० सिटसहित सबैभन्दा ठूलो दल बनेको एमालेले पहिचानका आधारमा प्रदेश नामकरणमा भूमिका नखेलेको भन्दै पहिचानवादीहरुले निरन्तर तारो बनाउँदै आएका छन् । यसअघि पनि उनीहरुको आन्दोलनको सिकार स्वयं ओली र सचिव योगेश भट्टराई बनेका थिए । मुख्यमन्त्री र मन्त्रीहरुमाथि समेत बारम्बार आक्रमण हुने गरेको छ । राष्ट्रिय राजनीतिभन्दा धेरै पर रहेर जनता जोड्ने भनिएको अभियान कोशी पुग्दा ओलीका लागि महँगो हुने देखिएको छ । यसमा पहिचानवादी तगारो बनिरहेका छन् । तर पनि यात्राको क्रममा अध्यक्ष ओली विवाहलगायत सुभकार्य भइरहेको भेटिए उपस्थित हुने र मञ्चमै केही रमाइलो पनि गरिहाल्छन् ।

एमालेको यो अभियानलाई ‘समृद्धिका लागि संकल्प यात्रा’ भनिए पनि कार्यक्रम र कार्यशैली बिगतभन्दा केही पनि फरक छैन । यस यात्रामा अध्यक्ष ओलीले कार्यकर्ताबाट माला ग्रहण गर्ने र मञ्चमा पुगेर सरकारको आलोचनामा समय खर्चिने बाहेकको प्रगती नभएको टिप्पणी भइरहेको छ । सुदूरपश्चिम र कर्णालीका कैयन समस्याको समाधानबारे एमालेले खासै पहल गरेको वा बोलेको देखिंदैन । काभ्रेपलाञ्चोकको दोलालघाटमा माछा तार्नेदेखि भोजपुरमा सुन्तलाको झोला बोकेर स्थानीयलाई बाँड्नेसम्मका गतिविधिमा ओली सक्रिय रहे । तर माछा र सुन्तलाले उचित बजार पाएको नपाएकोबारे कसैले खासै चासोँ देखाएको पाइएन ।

जति पनि सभा तथा कार्यक्रम भएका छन् त्यहाँ ओली देशमा मध्यावधीको औचित्य पुष्टि गर्न हरसम्भव लागिरहन्छन् ।
एमालेको सो अभियानको औचित्यबारे आफँैमा स्वभाविक प्रश्न उठेकै छ । यसको समीक्षा पार्टीपंक्तिले निकट भविश्यमै गर्ला । कोशी प्रदेश नामकरणको पक्षमा एमाले एक्लो थिएन । अहिलेको पहिचानवादी समूहमा रहेकाहरुकै पार्टी नेकपा माओवादी केन्द्र, कांग्रेस, राप्रपा लागायत दलहरुले पनि पक्षमै मतदान गरेका थिए । तर कोशी नामकरणको प्रस्तावको नेतृत्व एमालेले गरेकै कारण पहिचानवादीहरुले एमालेलाई वर्गशत्रुको रुपमा हेर्न खोजेको देखिन्छ । यति भनिरहँदा कोशीकै पक्षमा रहेका अरु दलहरु पहिचानवादीहरुको प्रश्नको घेरामा किन छैनन् ? यो समीक्षाको विषय होइन ?