Breaking

कांग्रेस नेता खाँण आज रिहा नहुने


काठमाडौँ – उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए पनि नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण बिहीबार रिहा नहुने भएका छन् ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको अवस्थाको अभाव देखिएको भन्दै धरौटीमा छाड्न आदेश दिएको थियो । अब खाँणले ३० लाख रुपैयाँ बराबर नगद, जमानत वा बैंक ग्यारेन्टी बुझाएर रिहा हुन सक्नेछन् । तर खाँणले यो धरौटी काठमाडौं जिल्ला अदालतमा बुझाउनुपर्नेछ । उच्च अदालतको आदेशको पत्र पाएपछि जिल्ला अदालत काठमाडौंले खाँणसँग धरौटी रकम वा बैंक ग्यारेन्टी लिनेछ ।

त्यति गर्दा पनि खाँण छुट्न पाउने छैनन् । केन्द्रीय कारागार कार्यालयका प्रमुख ललित बस्नेतका अनुसार खाँणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान विभागलाई बुझाउनुपर्नेछ । ‘त्यसैले उहाँ आज छुट्नुहुन्न’ बस्नेतले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तमाथि सम्पत्ति शुद्धीकरण र अख्तियारले पनि अनुसन्धान गरिरहेकाले रिहा हुनुअघि कारागारले अभियुक्तलाई ती निकायमा बुझाउनुपर्छ ।