Breaking

भारत–अमेरिका प्रचण्ड सरकार ढाल्न लागेकै हुन् ? चीनको चासो कता ? (भिडियोसहित)

सरकार विदेशीले ढाल्दैछन् ?


काठमाडौँ – नेपालको भू–राजनीतिक अवस्थिति अझ भनौँ नेतृत्वको राजनीतिक चरित्रका कारण आन्तरिक सत्ता संघर्षमा खुलेआम बाह्य हस्तक्षेप हुँदै आएको छ ।

आन्तरिक राजनीतिमा सत्ता समीकरण निर्माणदेखि सरकार टिकाउने वा ढाल्ने खेलमा विदेशी शक्तिको चलखेल हुने गरेको विषय नौलो होइन । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले एक वर्ष पुग्नै लाग्दा अहिले फेरि सत्ता परिवर्तनका लागि चलखेल भइरहेको चर्चा हुन थालेको छ ।

गठबन्धनको बलमा ११ महिनादेखि सत्ताको बागडोर हाकिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय सत्ताच्युत हुने त होइन भन्ने पिरलोमा छन् । सरकार ढाल्ने र गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको उनी आफँैले संकेत गर्न थालिसकेका छन् । अनेक काण्ड र ठूला भ्रष्टाचार प्रकरणले चौतर्फी घेराबन्दीमा परेका प्रचण्ड, पटक पटक गठबन्धनको वैबक गरेर नेताहरुको नाडी छाम्ने काम गरिरहेका छन् । आफू र आफ्नो पार्टी रित्याएरै गठबन्धन दलहरुलाई पद उपहार दिँदै सत्ता टिकाई रहेका प्रचण्ड जसरी पनि गठबन्धन टिकाउने र सत्तामा रमाउने रणनीतिमा छन् ।

नेपालको आन्तरिक राजनीतिमा सत्ता समीकरण निर्माणदेखि सरकार टिकाउने वा ढाल्ने खेलमा विदेशी शक्तिको चलखेल विगत देखि नै हुँदै आएको छ । पछिल्लो समय १२ बुँदे सम्झौताका पक्षधरहरु प्रचण्ड सरकार ढाल्ने कोशिसमा लागेको विश्लेषण हुन थालेको छ । १२ बुँदे सम्झौतालाई यथास्थितिमा राख्न चाहने आन्तरिक तथा बाह्य समूह सरकार ढाल्न सक्रिय रहेको विश्लेषकको टिप्पणी छ ।



उत्तरी छिमेकी चीनको सहयोगमा एमाले अध्यक्ष केपी ओलीसँग सहकार्य गरेर प्रधानमन्त्री पद प्राप्त गरेका प्रचण्ड पछि सरकार धरापमा पर्ने देखेपछि ओलीलाई धोका दिँदै पुनः देउवा क्याम्प फर्किएका थिए । पुष १० मा प्रचण्डले दिएको धोका बिर्सिएर देउवाले प्रचण्डलाई पुनः हार्दिकताका साथ स्वीकार गरे । प्रचण्ड–देउवाको पुनर्मिलनलाई पश्चिमा शक्तिको मिलिभगत भएको विश्लेषण हुँदै आएको छ । अझ स्पष्ट रुपमा भन्नु पर्दा भारत र अमेरिकाले देउवा–प्रचण्डको मिलन गराएको र भारत अमेरिकाले नचाहेसम्म यो गठबन्धन नटुट्ने दाबी विश्लेषकको छ ।

नेपालको आन्तरिक राजनीतिक घटनाक्रम कुनै पनि बेला अनपेक्षित हुन सक्छ । नेपालमा सत्ता हत्याउन होस् या सत्ता टिकाउन आन्तरिक राजनीतिक अंकगणितको भूमिका कम तर बाह्य शक्तिको साहारा र आर्शिवादले ठूलो अर्थ राख्छ । प्रधानमन्त्री हुनासाथ भारत भ्रमणबाट विदेश यात्रा सुरु गर्ने भन्दै भारतलाई रिझाएका प्रचण्डले भारत भ्रमणताका देखाएको नतमस्तक चरित्र ताजै छ । भारतलाई रिझाउँदा चीनलाई बेवास्त गरेको आरोप उनले खेप्दै आएका छन् । द्वध चरित्र धारण गर्न सक्ने प्रचण्ड राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिको सन्तुलन मिलाएर कतिन्जेल सत्ता टिकाउन सक्छन् ? त्यो भने आमचासोको विषय बनेको छ ।