Breaking

ज्यानको बाजी थापेर युद्धभूमिमा भविष्य खोज्दै नेपाली युवा, सरकार अलमलमा (भिडियोसहित)

एकले अर्कालाई गोली ठोक्ने अठोट


काठमाडौँ – सुन्दर भविश्यको सपना लिएर नेपाली युवा ज्यानको बाजी लगाएरै रूस—युक्रेन जस्ता द्वन्दग्रस्त क्षेत्रमा पुगेका छन् । पराइको भूमि बचाउनका लागि छातीमा गोली थाप्न पनि तयार छन् । नागरिकको जीवन रक्षा गर्नु सरकारको दायित्व हो । तर, सरकार संख्या गन्दै बसिरहेको छ ।

आफ्नो जन्मभूमि र जन्म दिने आमाबुबालाई छाडेर पराइको भूमिमा श्रमसँग पसिना साट्नका लागि जान कसलाई पो रहर हुन्छ र ? तर, आज नौजवान नेपाली युवाहरू आफ्नो देशमा भ्रष्टाचार, व्यथिति र बेरोजगारका कारण डाडाँमाथिका घाम भइसकेका आफ्ना आमाबुबालाई बिदाई हात हल्लाउँदै परदेशीन विवस छन् ।

नेपाली नौजवान युवाहरू देशमा आफ्नो सुन्दर भविष्य नदेखेरै खाडीको मरूभूमिको माटोलाई आफ्नो पसिनाले मलिलो बनाउनका लागि आफूसँग भएका सम्पत्ति बेचेर, ऋण गरेर परदेशिनुपर्ने बाध्यता नेपालको लागि कुनै नौलो विषय रहेन । विदेशमा रहेका ५० लाख नेपालीलाई स्वदेशमा फर्काउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने भाषण गर्ने नेताहरू पनि अहिले त्रिभुवन विमानस्थलबाट युवा जनशक्तिहरू विदेशीएका टुलुटुलु हेरिरहेका छन् । हिजोको दिनमा नेपालीहरू आफ्नो लालाबालाको सुन्दर भविष्य र घरपरिवारलाई खुसी दिनका लागि कोही अध्ययनको नाममा त कोही श्रमको नाममा विदेशिएका थिए । तर, आज नेपालीहरू आफ्नो ज्यानको बाजी लगाएर रूस-युक्रेन जस्ता द्वन्दग्रस्त क्षेत्रमा पनि पुगेका छन् । पराइको भूमि बचाउनका लागि छातीमा गोली थाप्न तयार भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि यस विषयमा जानकार छन् ।
सर्वहारा जनताको मुक्तिको लागि भन्दै युद्धमा होमिएका कमान्डर प्रचण्डले हिजोको दिनमा आम जनताका बीचमा गरेका वाचा पूरा गर्न सकेको छैन । प्रचण्ड तेस्रो कार्यकाल प्रधानमन्त्रीको कुर्सी सम्हालिरहेका छन् । तर, अहिले युद्धग्रस्त क्षेत्रहरूमा जाने नेपालीहरूलाई रोक्नका लागि तदारूक्ता देखाउनुको सट्टा कुर्सी र सत्ता जोगाउनमा केन्द्रित रहेका छन् ।

केही समयअघि मात्र अध्ययनको लागि इजराइल गएका दश जना नेपाली विद्यार्थीले युद्धमा परी अनाहकमा ज्यान गुमाउनु परेको थियो । एकजना अझैसम्म बेपत्ता छन् । नेपालीहरूले आफ्नो जन्मभूमिमा सबैतिर अन्धकार देख्न थालेपछि पराइको भूमिमा श्रम बेच्न जानुपर्ने बाध्यता राजनीतिक नेतृत्वकै कारण आएको हो ।

नेपाली युवाले अध्ययनका लागि आएको र पैसा नभएपछि बाध्य भएर सेनामा भर्ती हुनुपरेको गुनासो गरेका छन् । उद्धार गरिदिन सरकारसँग अनुरोध गरिरहेका छन् । इजराइलमा नेपाली सन्तानले मृत्युवरण गर्नुपरेको खबरले छिया-छिया भएका नेपाली मनहरू अहिले पुनः नेपाली युवाहरू रूस र युक्रेनको सेनामा भर्ती हुँदै एकले अर्कालाई गोली ठोक्ने अठोट लिइरहेको खबरले झस्किएका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्री प्रचण्ड सहभागी कार्यक्रममै अहिलेकै अवस्था रह्यो भने यो सरकारले भोलिको दिनमा नेपाली जनताको छाला काटेर बेच्ने दिन आउने आशंका व्यक्त गरेकी छिन् ।

कार्कीले मुखभरिको जवाफ दिइरहदा प्रधानमन्त्री प्रचण्ड आफूलाई असहज महसुस गर्दै बसिरहेका थिए । युद्धग्रस्त देशहरूमा नेपालीहरूलाई जान रोक्नका लागि सरकार गम्भीर हुनुपर्नेमा यति गए, उती गए भनेर बसिरहेको छ । नेपालीलाई युरोप पु¥याएर सुन्दर भविष्य बनाइदिन्छु भन्दै ठगी गर्नेहरू कम छैनन् । कमजोर सरकारको परिणाम ठग्ने र ठगिनेहरू बढ्दो क्रममा छन् । सुन्दर भविश्यको सपना बोक्दै विदेशी भूमिका पुगेका नेपाली युवा अकालमा ज्यान गुमाउन बाध्य छन् । सरकार रमिता हेरेर बसिरहेको छ ।