Breaking

बालाचतुर्दशी: पितृका नाममा छरियो शतबीज


काठमाडौँ – बालाचतुर्दशी अन्तर्गत पितृका नाममा आज शतबीज छरिएको छ । अघिल्लो दिन साँझ दीपदान गरी रातभर भजनकीर्तन गरेर जाग्राम बसेकाहरुले बिहानको झिसमिसेमा शतबीज छरेका हुन् ।

प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्ने र चतुर्दशीका दिन शतबीज छर्ने परम्परा छ । सोमबार बिहान काठमाडौँको पशुपतिनाथ मन्दिर वरपर शतबीज छर्नेहरुको घुइँचो थियो । पशुपति क्षेत्रको १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुहृयेश्वरी, मृगस्थली, विश्वरूप, किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

शतबीज छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्‍याइदिन अनुरोध गर्ने चलन छ ।

शतबीज छर्न पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुहृयेश्वरीको पूजा अनिवार्य गर्नुपर्ने शास्त्रीय वचन छ ।
शतबीजमा हाल धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर छर्ने चलन छ । तर, नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम भन्छन्, ‘हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्छ, अरु होइन ।’