Breaking

कांग्रेसको छटपटी : प्रचण्ड देउवाका प्यारा, गगन – शेखर सरकार फेर्ने दाउमा (भिडियोसहित)

सरकार दोषी, फाइदा लिने कांग्रेस ?


काठमाडौँ – सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस तेस्रो दल माओवादी नेतृत्वको सरकारको सहयात्री छ । कांग्रेस संस्थापनइतर पक्ष भने निरन्तर सरकारको विरोधमा छ । प्रमुख प्रतिपक्ष एमाले सत्तामा उक्लिने भ¥याङ खोज्दैछ । तर, परिस्थिति अनुकुल बनिरहेको छैन । राजनीति आरोप–प्रत्यारोपकै वरिपरी घुमिरहेको छ ।

लोकतान्त्रिक संसदीय व्यवस्थामा गुण र दोषको आधारमा सरकारको समर्थन र आलोचना हुन्छ । विषेशगरी, प्रतिपक्ष दलले आलोचना गर्ने र सत्तारूढ दलले समर्थन गर्ने संसदीय अभ्यास हो । तर, सत्तारूढ दलबाटै सरकारको कार्यशैलीको आलोचना भइरहेको छ । कांग्रेसभित्रबाट देउवा पक्षले प्रचण्डलाई सत्तामा टिकाउन भगीरथ प्रयास गरिरहेको छ भने, कांग्रेस भित्रकै प्रतिपक्ष भनिएका शेखर कोइराला–गगन थापा पक्ष सरकारविरुद्ध खरो रुपमा प्रस्तुत हुँदै आएको छ । तर, कांग्रेसमा संस्थगत निर्णय गराउन कोइराला–थापा पक्षले सकेको छैन । कोइराला–थापा पक्ष सरकारप्रति आक्रामक बन्दै गएको छ ।

सरकारको विरुद्धमा कांग्रेस महामन्त्री थापाले एजेण्डाका रुपमा बैठकमा विषयबस्तु राखेका छैनन् । तर, सार्वजनिक कार्यक्रममा आक्रोश पोखिरहेका छन् । यस्तो विरोधलाई आम जनताले भने पानीमाथिको ओभानो बन्न खोजेको रुपमा बुझेका छन् । कांग्रेसकै अर्का नेता शेखर कोइरालाले पनि कम्युनिस्टहरूसँगको गठबन्धनबाट आफूले निर्वाचन जितेको बिर्सिएका छन् । कम्युनिस्ट पार्टीहरूसँग कांग्रेसले गठबन्धन गर्दै जाने हो भने अस्तित्व नै समाप्त हुने उनको चेतावनी छ ।

आफ्नै पार्टीका उपप्रधानमन्त्री, अर्थमन्त्री लगायत रहेको चटक्कै बिर्सेर कांग्रेस नेताहरूले विरोध गरिरहेका छन् । यदि, साँच्चिकैको विरोध हो भने, मन्त्री फिर्ता बोलाउने निर्णय गरेर सरकारमाथि दबाब दिन सक्थे । सत्ता घटककै सबैभन्दा ठूलो दलका नेताहरूको पेलानमा परेका प्रधानमन्त्री प्रचण्ड भने जग हसाउने गरी सुशासन र समृद्धिको भाषण गर्न पछि पर्दैनन् ।

तर, सुशासनको पक्षमा कति काम भयो र समृद्धिको यात्रा कहाँ पुग्यो कहिल्यै भन्दैनन् । प्रचण्डले तेस्रो कार्यकाल सत्ताको ताल्चासाँचो सम्हालेदेखि कहिले क्विन्टल त कहिले किलोको किलो सुन भित्रिएको र भ्रष्टाचार मौलाएको खबरले स्थान पाइरहेका छन् । गठबन्धनमार्फत प्रधानमन्त्रीको कुर्सीमा बसेकै दिनदेखि प्रधानमन्त्री प्रचण्डलाई दैनिकजसो सत्तापक्षलाई मिलाउनै हैरानी परेको छ । सत्ता घटकभित्रको खिचातानी नजिकबाट निकालिरहेको प्रतिपक्ष एमाले भने सत्तामा उक्लिने भ¥याङ खोज्दै छ ।

अहिलेको सत्ता गठबन्धनका नेताहरूको विशेषता भनेकै राम्रो जति सबै आफुले गरेको र नराम्रो विपक्षमा कारण भन्ने बनेको छ । प्रतिपक्षले भने भ्रष्टाचार र वेतिथिबारे सरकारमाथि निरन्तर प्रहार गरिहरेका छन् । सत्ता र प्रतिपक्षको जुहारीबाट आम जनताको भलाई हुन सकेको छैन् । बरु, झन्झन् निराशा बढ्दो छ । आक्रोशको स्वर फैलिदो छ ।