Breaking

सेयर मार्केटमा उछाल, शोकमा रहेका लगानीकर्ता उत्साहित, के संकट टरेकै हो ? (भिडियोसहित)

ह्वात्तै किन बढ्यो सेयर ?


काठमाडौँ – सेयर बजार मापक नेप्से परिसूचकमा तीनपटक सकारात्मक सर्किट लागेपछि आइतबारका लागि कारोबार नै बन्द भयो । लामो समयदेखि नेप्सेको गिर्दो तथ्यांकले हायलकायल भएका लगानीकर्ताहरुमा केही उत्साह त थपिएको छ तर कहिलेसम्म रु त्यो भने टुंगो छैन ।

सेयर बजार परिसूचक नेप्से आइतबार दुई वर्षपछि उच्च अंकले बढ्यो । आइतबार १११.२० अंकले बढेसँगै नेप्से परिसूचक १ हजार ९६३.९७ विन्दुमा आइपुगेको छ । योसँगै परिसूचक करिब साढे तीन महिनायताकै उच्च बिन्दुमा आइपुगेको हो । २०८० भदौ १८ गते नेप्से १९६७.९७ बिन्दुमा थियो ।

गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सेयर धितो कर्जाको जोखिमभार एक सय ५० प्रतिशतबाट घटाएर एक सय २५ कायम गरेको थियो । यो नयाँ व्यवस्थासँगै बजार चलायमान हुने अपेक्षा गरिएको थियो । त्यहीअनुसार लगानीकर्ताहरूमा सकारात्मक सन्देश प्रवाह भएको जानकारहरुको दावी छ । यद्यपी यो श्रृंखला कति दिनसम्म जारी रहन्छ त्यो भने सबैको चासोको बिषय बनेको छ ।

सामान्यतः ४ घण्टा कारोबार हुने सेयर बजारमा आइतबार भने तीन पटकमा ९ मिनेटमात्रै बजार खुल्यो । जसको कारण थियो, बजारमा अनपेक्षित सकारात्मक सर्किट लाग्नु । बजार खुलेको पाँच मिनेटमै ४ प्रतिशतले बजार बढ्यो । त्यसपछि २० मिनेटका लागि बन्द गरिएको बजार११ बजेर २५ मिनेटमा पुनः खोलियो । तर, २ मिनेटमै नेप्से परिसूचक ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्दा ४० मिनेटका लागि कारोबार स्थगित भयो।त्यसपछि १२ बजेर ७मिनेटमा पुनः सुरु भएको कारोबार २ मिनेटमै ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेको हो ।

बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेट, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेट र जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुने व्यवस्था छ । सोही अनुसार आइतबारको कारोबारमा २४४ कम्पनीको १३ लाख ६७ हजार ६१५ कित्ता शेयर ४८ करोड २४ लाख ८२ हजार २३९ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । गत बिहीबारको तुलतामा कारोबार रकम भने कम हो ।

यद्यपि,बढेको बजारमा कारोबार घट्नु सकारात्मक मानिन्छ। बजारमा सर्किट लाग्दा समेत कारोबार घट्नुले आगामी कारोबार राम्रो हुने आकलन गर्न सकिने विज्ञहरु बताउँछन् । लगानीकर्ताको मनोबल उच्च हुँदा बजारमा माग बढ्ने र आपूर्ति घट्ने भएकाले बजार माथि जाने संकेत देखाउँछ । लगानीकर्ताहरु नै थला परेको र सेयर बजारबाट पार लाग्दैन भन्ने अवस्थामा पुग्दा आइतबारको छलाङले केही संकेत त देखाएको छ । मौद्रिक नीतिले केही सकारात्मकता देखाएपनि नेपालको बजार ज्यादै अस्थीर रहेकाले यसै हुन्छ भन्नसक्ने अवस्था नरहेको जानकारहरु बताउँछन् ।

केही मुठ्ठिभरका व्यवसायीकै उठबसमा सेयर बजार तलमाथि हुने हाम्रो विगत ताजै छ । अहिले एक्कासी मौद्रिक नीतिको सकारात्मकताकै भरमा आकाशिएको बजारमा लगानी गर्ने कि नगर्ने भन्ने दुविधा लगानी कर्तामा अँझैपनि छ । संकटकै समयमा बजारले देखाएको सकारात्मकताको दीगोपन सहज भने देखिँदैन ।