Breaking

माधवलाई ओलीको डर : गठबन्धन फेरिए राजनीति नै सकिन्छ, झाँक्री र झलनाथको भएन भर (भिडियोसहित)

झलनाथलाई रोक्दै माधव


काठकमाडौँ – माघमा नै गर्ने भनिएको नेकपा एकीकृत समाजवादी पार्टीको पहिलो महाधिवेश विभिन्न कारणले गर्दा छ महिना पर धकेलिएको छ । पार्टी सञ्चालनमै धौधौ परेर सकसमा रहेका माधवलाई पार्टीभित्रको आन्तरिक द्वन्द्व लगायत राजनीतिक घटनाक्रमले थप तनावमा पारेको छ । पार्टी स्थापनाको दुई वर्ष बितिसक्दा पनि माधवको राजनीतिक भविष्य प्रचण्ड र गठबन्धनमै सीमित छ ।
अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट हुँदै नेकपा एमालेबाट टुक्रिएर नेकपा एकीकृत समाजवादी पार्टी खडा गरेका माधवकुमार नेपालले माघ १४ देखि १८ गतेसम्म गर्ने भनिएको महाधिवेशन ६ महिना पर सरेको छ । पार्टीभित्रको विवाद र राष्ट्रिय राजनीतिबाट उत्पन्न तरंगले तोकिएको महाधिवेशन आगामी वर्षको जेष्ठ तीनदेखि सात गतेसम्म काठमाडौँमा हुने गरि पर धकेलिएको हो । पार्टी फुटाएदेखि नै गठबन्धनको पुच्छार बनेर छटपटीमा रहेका माधवले महाधिवेशनका लागि तयारी नपुगेको र माघमा नै राष्ट्रिय सभा सदस्यको निर्वाचन पनि हुने भएकाले सार्नु परेको बताउँदै आएका छन् । तर, पार्टीभित्रको प्रभावशाली नेताकै भने यसमा असन्तुष्टि छ । सम्मानीत नेता झलनाथ खनाल नेतृत्व फेर्नका लागि माघमा नै महाधिवेशन गर्नु पर्ने मनस्थितिमा रहे पनि पार्टीले उनको इच्छाविपरीत महाधिवेशनको मिति तय गरेको हो ।

यसअघि संगठन विस्तारभन्दै माधव देशैभर कुदे पनि सोचेअनुसारको उत्साह भने देखिँएन । पार्टीको जागरण अभियानका क्रममा तीन लाख ५० हजार जनतासँग सम्पर्क भएको दावी गर्ने समाजवादीले १० हजारभन्दा बढी कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको बताएको छ तर, जिल्लामा कार्यकर्ता नै तितरवितर भएको यथार्थ पनि हो । भएकै आकार रित्तिने यात्रामा छ । एकपछि अर्को गर्दै समाजवादीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला अध्यक्षदेखि स्थानीयस्तरका नेताहरू धमाधम उही पुरानै घर एमालेमा फर्कने क्रम तीव्र छ ।

वरिष्ठ नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने र सचिव भागवत विश्वासीसहित ३० केन्द्रीय सदस्य र १३ जना जिल्ला अध्यक्षहरू एमालेमा फर्किसकेका छन् भने समाजवादी छोडेर एमाले प्रवेश गर्ने जिल्लास्तरीय नेता कार्यकर्ताहरूको लिस्ट पनि लामै छ । झलनाथ खनाल र रामकुमारी झाक्रीलगायत पार्टीभित्रका एक पंक्तिले एमालेमा जान खुट्टा उचालिरहेको चर्चा ठूलै छ । पार्टी संगठन विस्तार हुँदै बलियो हुनु पर्ने अवस्थामा एकीकृत समाजवादीभित्र आन्तरिक विवाद थप चुलिँदै गएको छ । आफू बन्नेभन्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सकाउनकै लागि दल बनाएका माधव नेपाल एमालेले कार्यकर्ता खोसेर जिल्ला नै नील बनाउन थालेपछि रुष्ट बनेका छन् । ओलीलाई कम्युनिष्ट बन्ने प्रयास गर्न सुझाव दिएको पार्टीले नेपाली राजनीतिको स्थिरताको खलनायक नै ओली रहेको आरोप लगाएको छ ।

माधवलाई एकातिर पार्टीभित्रको आन्तरिक द्वन्द्व र महाधिवेशनको सकस छ भने अर्कातिर सत्ता गठबन्धनमा हुन सक्ने फेरबदल पनि टाउको दुखाईको विषय बनेको छ । पार्टी चलाउन नसकेर छटपटिएका माधवलाई सत्ता समीकरणमा आउनसक्ने उतारचढावले पनि संकटमा पार्न सक्छ । तीन समीकरण देखिएको राजनीतिमा दुई समीकरण माधवको खिलाफ छ ।
अहिलेकै समीकरणले उनलाई केही नगरे पनि देउवा ओली वा ओली प्रचण्डको मिलनले भने पार्टी राष्ट्रिय दलसमेत बन्न नसकेको अवस्थामा एमाले विभाजनपछि पहिलो पटक प्रतिपक्षमा पुग्ने निश्चत छ । माधवलाई सत्ताबाट बहिर्गमनको बाटो देखाउन ओली निरन्तर लागि परेकै छन् ।

प्रचण्डसँगको निकटताले माओवादीसँग पार्टी एकताको चर्चा चलिरहँदा माधवले पार्टी फुटको औचित्य पुष्टि गर्न सकिरहेका छैनन् भने, नियमित छलफल गरिरहेको एकीकृत समाजवादी पाइला पाइलामासमेत अल्झिरहेको छ । स्थापना भएको दुई वर्ष पुग्दा पार्टीको पहिचान र आकार बनाउनेतर्फ भन्दा पनि गठबन्धन दलहरूकै बीचमा माधव रमाइरहेका देखिन्छन् । प्रचण्डसँग काँध जोडेकै भरमा कृषि र भौतिक पूर्वाधार दुई मन्त्रालय च्यापेर कुनामा थन्किएका मन्त्रीहरूको कार्यसम्पादन उपलब्धी मुलक छैन ।

जिल्लामा पार्टीप्रतिको खस्किदो लोकप्रियता, पार्टीभित्रैका प्रभावशाली नेतासँगको मनमुटाव, सत्ता समीकरणको त्रासले गर्दा माधवको छटपटी मात्रै बढेको छैन । ओली सक्काउन मैदानमा आएका उनी आफै सक्किने पथमा रुमल्लिरहेका छन् ।