Breaking

जनतालाई नुनकै सास्ती, नेता सुन र एनसेल काण्ड मच्चाउँदै (भिडियोसहित)

नेता हुन कि दलाल ?


काठमाडौँ – आफ्नै दैनिक जिवन कष्टकर बनिरहेको अवस्थामा देशमा हुने अनियमितताले आम नागरिक निराश छन् । जनजीविकाको मुद्धा एकतिर र राजनीति गर्ने नेताको उद्देश्य अर्कोतिर हुँदा सुशासनको रटान लगाउने सरकारकै कार्यकालमा नागरिक रुष्ट बनेका हुन् ।

देशमा प्रत्येक दिन भ्रष्टाचार र सुन तस्करी जस्ता गैरकानुनी गतिविधिको समाचारले नेपाली नागरिक वाक्क छन् । पत्रपत्रिका देखि रेडियो टेलिभिजनजस्ता सञ्चारमाध्यमको हेडलाइन नै यस्ता नकारात्मक समाचारले भरिभराउ हुने गरेको छ । दैनिक उपभोग्य वस्तुको महंगीले आकाश छोएको छ । व्यापार व्यवसाय प्राय ठप्प छ । यहाँ सम्मकी चिनी र प्याज जस्ता दैनिक उपभोग्य खाद्यत्र किन्न समेत नागरिकले सास्ती व्योहोर्न पर्ने स्थिति आईपरेको छ । आफ्नो दैनिक जिवन नै सकसपूर्ण भइरहेको अवस्थामा राज्यको कमजोरीबाट हुने यस्ता कार्यबाट उच्च शासन व्यवस्थाको अभ्यास गरिरहेको गणतन्त्रमा पनि नागरिकले चैनको सास फेर्न सकेका छैनन् ।

आफ्नै समस्यासंग जुधिरहेका आम नागरिक अर्बौको घोटालाको समाचार सुन्दा आक्रोशित हुनु अलावा अरू केही गर्न सक्ने हैसियतमा छैनन् । आफैले चुनेर पठाएकाहरू जनप्रतिनिधिहरूलाई धारेहात लगाएर एकछिन सतोसराप गरेर मन शान्त पार्नु बाहेक नागरिकसंग अर्को विकल्प छैन ।

यतिमात्रै होइन । जाजरकोटमा गएको भूकम्पका कारण त्यहाँको अवस्था जर्जर छ । चिसोका कारण मृत्यु भएको समाचारहरू बाहिरी रहँदा त्रिपालबाट पीडितहरू निस्कन सकेका छैनन् । मंसिरभित्रै प्रभावित नागरिकलाई त्रिपालमुक्त गर्ने भनिए पनि अहिलेसम्म जम्मा दश प्रतिशत अस्थायी टहरामा मात्रै छानो लागेको छ । केन्द्र सरकारले अस्थायी आवास निर्माणका लागि ५० हजार रकम दिने र त्यसका लागि मापदण्ड तोक्ने काम भए पनि झन्झटिलो कानुनी प्रक्रियाले गर्दा अहिलेसम्म सम्पूर्ण भूकम्प प्रभावितहरूको लगत सङ्कलनसमेत हुन सकेको छैन । नेताको हुलियामा ठेकेदाहरूबीच भ्रष्टाचार गर्ने प्रतिष्पर्धा चल्दा मिलिभगतमा बाढिचुडी खान सरकारको राजकागमा भएकाहरुनै मुख बाएर बसेकाछन्।

सरकारको एकमात्र उद्देश्य नै सुशासन भएको बताउने प्रचण्ड नेतृत्वकै कार्यकालमा व्यवस्थाविरोधी आवाज देखि भ्रष्टाचार, अनियमितता, कर छली जस्ता काण्डै काण्ड को समाचार हरेकदिन जसो बाहिरी रहेको छ । बाहिरिएका भ्रष्टाचार काण्डमा नेता कर्मचारीको नाममात्रै जोडिएको छैन । शीषस्थ नेताहरूले नै एक अर्काको संलग्नता रहेको संसदीय समिति देखि सार्वजनिक कार्यक्रममा नै भन्ने गरेका छन् । जनजीविकाको समस्यालाई सम्बोधन गर्छु भन्दै राजनीतिमा लागेकाहरूको ध्यान जनताको मुद्धामा भन्दा पनि कहाँ र कसरी भ्रष्टाचार गर्न सकिन्छ भन्नेमा नै जाँदा नागरिकको दैनिकी कष्टकर बनिरहेको छ ।

जनसरोकारको विषयलाई लात हानेर, जनताभन्दा माथि आफू र परिवारलाई नै सर्वोपरी राख्ने राजनीतिक नेतृत्व आफ्नो पेट र गोजी भर्न नै पल्केका छन् । नाताबाद कृपावादले जरा गाडेर नेता परिवारबादमाथि उठ्न नसक्दा प्रत्येक दिन जनता महंगीको मारले पिस्लिरहेकाछन् । काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भनेजस्तो ,जनताको समस्या भन्दा विलासितामा नेता रमाउँदा नागरिकले विकल्पको खोजी सुरु गरेकाछन् ।