Breaking

पेस्तोल र २० थान गोलीसहित ३ जना पक्राउ​


काठमाडौं — मकवानपुर प्रहरीले सेमिअटोमेटिक पेस्तोल र २० थान गोलीसहित ३ जनालाई पक्राउ गरेको छ।

हेटौंडा उपमहानगरपालिका वडा नं।९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरेर भागेका तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो।

गत सोमबार राति गोली प्रहारको घटना मंगलबार दिउँसो जानकारीमा आएपछि परिचालित प्रहरीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो।

पक्राउ पर्नेमा हेटौंडा ९ का ३३ वर्षीय निश्चल पाण्डे‚ सोही ठाउँका ३५ वर्षीय गणेश घले र ३० वर्षका प्रितम क्षेत्री छन्। उनीहरूको साथबाट घटनामा प्रयोग भएको पेस्तोल पनि बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट नगद ५० हजार रूपैयाँ, २ सय ग्राम लागुऔषध खैरो हेरोइन‚ लागुऔषध तौल गर्ने तराजु पनि बरामद भएको एसपी रिजाललेजानकारी दिनुभयो।।