Breaking

तस्करले अमेरिका पुर्याएका पुरातात्विक मूर्ति नेपाललाई फिर्ता


काठमाडौँ – विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्याएका चार वटा पुरातात्विक मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ ।
न्यूयोर्कस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा आज विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दूतावास मार्फत नेपाल सरकारलाई मूर्ति हस्तान्तरण गरिएको हो । जसमा दुई वटा भैरव मास्क रहेका छन् भने शिव पार्वती (उमा महेश्वर) र दुर्गाको ढुंगाको मूर्ति रहेका छन् । ती मूर्तिहरु १६ औं र १७ औं शताब्दीका छन् ।
न्यूयोर्कका जिल्ला न्यायाधिवक्ता एल्विन ब्राग जुनियर, जिल्ला सरकारी वकिल कार्यालयका वरिष्ठ अधिकारी, होमल्याण्ड सेक्युरिटी इन्भेष्टिगेसन्स, न्यूयोर्क र गृह मन्त्रालयका अधिकारीहरुले कार्यवाहक महावाणिज्यदूत विष्णु प्रसाद गौतमलाई मूर्ति हस्तान्तरण गरे ।

नेपालबाट चोरी तस्करी गरी अमेरिका ल्याइएका नेपालका पुरातात्विक वस्तुहरु फिर्ताका लागि सहयोग गर्न जिल्ला न्यायाधिवक्ताको कार्यालयलाई नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कले अनुरोध गरेको थियो ।न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको पटक पटकको पहलपछि अमेरिकी सरकारले लामो अनुसन्धानपछि मात्र यी मूर्तिहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको कार्यवहाक महावाणिज्य दुत गौतमले बताए । उनले नेपालको पुरातात्विक सम्पदा फिर्ता गरेकोमा कृतज्ञता ज्ञापन गर्दै यसको अनुसन्धानमा खट्ने अधिकृतहरुलाई विशेष धन्यवाद व्यक्त गरे ।

जिल्ला न्यायाधिवक्ता ब्रागले आफूहरु पुरातात्विक वस्तुहरूको तस्करी नेटवर्कलाई लक्षित गरेर अनुसन्धान अघि बढाएको भन्दै जति जटिल भए पनि यस्तो जालो तोड्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालबाट हराएका अन्य ऐतिहासिक वस्तुहरुको खोजीका लागि सधैं सहयोग गर्ने पनि बताए ।

यसअघि महावाणिज्य दूतावासको पहलमा १०औं शताब्दीदेखि १७औं शताब्दीका १६ वटा पुरातात्विक मूर्ति तथा वस्तु स्वदेश फर्काउन नेपाल सरकार सफल भएको छ । प्राप्त भएका मूर्ति परराष्ट्र मन्त्रालय, नेपाल पुरातत्व विभाग र अन्य सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै नेपाल पठाउने महावाणिज्य दूतावासले जनाएको छ ।