Breaking

इजरायलले सुरु गर्‍यो दक्षिणी गाजामा पनि हमला, खान युनिस खाली गर्न आदेश


काठमाडौँ – इजरायली सेनाले गाजाको दक्षिणी भागमा धेरै हमास नेताहरू लुकेको आकलन गर्दै आक्रमण सुरु गरेको छ। यस क्षेत्रमा करिब २३ लाख मानिस फसेका छन् ।

बीबीसीका अनुसार इजरायली सेनाले आइतबार गाजाको दोस्रो ठूलो सहर खान युनिस वरपरका क्षेत्रहरू खाली गर्न आदेश जारी गरेको हो। अन्तर्राष्ट्रिय समाचार संस्थाहरूमा प्रकाशित रिपोर्टहरू अनुसार इजरायलले इजरायली सेनाले आफ्नो भूमि विस्तार अभियानलाई अगाडि बढाइरहेको छ । इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीका अनुसार थल सेनाहरू अहिले दक्षिणतिर अघि बढिरहेका छन् । युद्धविरामपछि इजरायली सेनाले दक्षिणी गाजामा हवाई आक्रमण पनि सुरु गरेको छ ।

शहरी शरणार्थी शिविर जबलियामा शरण खोज्दै आएकी अमल रडवानले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘हाम्रो चारैतिर लगातार विस्फोटको आवाज सुनिन्छ। यहाँको अवस्था डरलाग्दो छ । मृत्यु जताततै छ। एकैछिनमा जो कोही मर्न सक्छ ।’इजरायल र हमासबीच जारी युद्धमा हालसम्म १५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । गाजाका अधिकांश नागरिक सुरक्षाको खोजीमा अहिले दक्षिणतिर भागेका छन्।

इजरायली सेनाले शनिबार राति खान युनिस र दक्षिणी सहर रफाह क्षेत्रका साथै उत्तरका केही भागहरूमा भारी हवाई र स्थल आक्रमण गरे। हमलमा सात प्यालेस्टाइनीको मृत्यु भएको थियो । यसै क्रममा आइतबार बिहान खान युनुसको पूर्वी भागमा रहेको एक आवासीय भवनमा इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ, जसमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

यसैबीच, गाजामा पुनः युद्ध भइरहेका बेला अमेरिकाले इजरायललाई संयमता अपनाउन दबाब दिएको छ । उपराष्ट्रपति कमला ह्यारिसले गाजामा धेरै निर्दोष प्यालेस्टाइनी मारिएको बताइन्। अमेरिकी रक्षा सचिव लोयड अस्टिनले निर्दोष नागरिकको सुरक्षा गर्ने इजरायलको नैतिक जिम्मेवारी रहेको बताएका छन् ।

हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ मा युद्ध सुरु भएदेखि गाजा पट्टीमा मृत्यु हुनेको कुल संख्या १५ हजार २०० भन्दा बढी पुगेको बताएको छ। मृत्यु हुनेमा ७० प्रतिशत महिला र बालबालिका रहेका छन् । ४० हजारभन्दा बढी मानिस घाइते भएका छन् ।