Breaking

प्रचण्ड स्वदेश फर्किए, आउला त डलर ?, नेपालको हिउँको मूल्य तिर्लान् विदेशीले ?


जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आईतबार स्वदेश फर्किएका छन् । चार दिने भ्रमण सकेर आज साँझ स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले युएई बसाईमा के के गरे त ? दुई घण्टा उडान तालिका अघि सारेर ३१ यात्रुलाई अलपत्र पारेर गत साताको बुधबार राति नौ बजे युएई उडेका प्रधानमन्त्री प्रचण्ड चार दिनपछि स्वदेश फर्किएका हुन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन मंसिर १३ गते युएई जाँदा यात्रुलाई छोडेर गएपछि आलोचित भए पनि फर्कदा भने छाती चौडा पारेर फर्किएका छन् । आफ्नो हक र अधिकारको बारे अन्तरर्राष्ट्रिय समुदायलाई प्रष्ट रुपमा बताएका प्रचण्डले ऐतिहासिक सफलता हात पारेको प्रतिक्रिया दिएका छन् ।

कोप २८ सम्मेलनलाई शनिबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालको नगन्य भूमिकारहे पनि असर भने धेरै भोग्नुपरेको भन्दै यस्तो अन्यायपूर्ण अवस्थाको अन्त्य हुनुपर्ने बताएका थिए ।आफू तीन करोड नेपालीको सन्देश लिएर सम्मेलनमा सहभागी भएको भन्दै उनले विश्वव्यापी रुपमा बढ्दो तापक्रमले हिमालमा असर पारेको र त्यसको प्रभाव निर्दोष नागरिकले भोग्नु परेको कुरा बिलियो रुपमा राखे ।

त्यसअघि शनिबारै प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई निम्त्याएर गोलमेच बैठक आयोजना गरेका थिए।‘हिमालको आवाज ः हामीलाई जलवायु संकटबाट कसले बचाउँछ ?’ शीर्षकको उक्त कार्यक्रममा सहभागीसंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विशेष सम्बोधनसमेत गरेका थिए । उक्त कार्यक्रममा गुटेरेससँगै युरोपेली मुलुक एन्डोराका प्रधानमन्त्री जाभी एस्पट जामोरा, गणतन्त्र किर्गिसका विदेशमन्त्री र भुटानका विदेश सचिवले पनि सम्बोधन गरेका थिए ।

शुक्रबार प्रधानमन्त्री प्रचण्डले कोप–२८ मा आफ्नै पेभेलियनमा मन्त्री सचिवहरूका अघि सम्बोधन गरेका थिए । युएई भ्रमणका वेला उनी युएईको ५२औँ एकता दिवसमा आयोजित समारोहमा सहभागी भएका थिए । प्रधानमन्त्रीले सम्मेलनमा सहभागी विभिन्न मुलुकका सरकारप्रमुख, राष्ट्रप्रमुख तथा उच्चस्तरीय नेतृत्वसँग साइडलाइन भेटवार्ता गरेका थिए । बिहीबार अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका प्रधानमन्त्रीले सेवा प्रवाहलाई अझ प्रभाकारी बनाउन निर्देशन दिएका थिए ।

बिहीबारै प्रचण्डले दुबई उद्योग वाणिज्य संघसँगको सहकार्यमा अबुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिँदैयुएईका उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान गरेका थिए ।