काठमाडौँ — कुनै बेला व्यापार व्यवसाय सञ्चालन गर्न भाडामा सटर पाउनै मुस्किल पर्ने काठमाडौंमा अहिले सटर खाली, पसल बिक्रीमा, टु–लेट लेखिएका पोष्टरहरु यत्रतत्र देख्न पाइन्छ । देशभर करिब ३५ प्रतिशत व्यवसायीले सटर खाली गरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघको तथ्याङ्क छ । जसोतसो व्यवसाय धानेर बसेकाहरु पनि पलायन हुने योजनामा छन् । कोरोना महामारीले थलिएको साना व्यवसाय आर्थिक मन्दीको मारका कारण लयमा नफर्किएपछि धमाधम पलाएन हुन बाध्य भएको व्यवसायीहरुको तर्क छ ।
विगतमा लाखाँै रुपैयाँ विचौलियालाई बुझाएर सटर हत्याउनु पर्ने ठमेल, दरवारमार्ग, न्युरोड, असन, सुन्धारा जस्ता मुख्य शहरी क्षेत्रदेखि भित्री गल्ली–गल्लीमा अहिले सटरहरु खाली हुँदै गएका छन् । लाखाँै रुपैयाँ हालेर सटर वा पसल किनबेच हुने ठाउँमा सटर वा पसल किन्ने मान्छे नपाउँदा व्यवसाय छाड्नेहरुले त्यत्तिकै खाली गरेर हिँडिरहेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको तथ्याङ्क अनुसार देशभर लगभग ३५ प्रतिशत सटर खाली भैसकेका छन् । यो संख्या थप बढ्ने उनीहरुको अनुमान छ ।
कोरोना महामारीले थलिएको व्यवसाय अझै लयमा फर्किन सकेको छैन । आर्थिक मन्दीको मार व्यवसायीका साथै आमसर्वधारणले खेपिरहेका छन् । दशैँ–तिहार छठ लगायतका पर्वमा समेत व्यापार लयमा नफर्किएपछि व्यवसायीहरु निराश मात्र छैनन्, व्यवसाय नै छाड्ने मनस्थितिमा पुगेका छन् । व्यवसायमा सुधार नआएपछि उनीहरु पलायन हुने अवस्थामा पुगेका हुन् । पछिल्ला केही महिनादेखि मुल्यवृद्धि ह्वात्तै आकासिएको छ, व्यापारमा मुनाफा भन्दा पनि घाटा बढ्दै गएको छ ।
योसँगै घरभाडा बढ्न थालेपछि आफुहरु थप मारमा परेको व्यवसायीहरुको गुनासो छ । सडकबाट सटरमा सरेका व्यापारीहरु थप मारमा परेका छन् । विगतमा फुटपाथमा व्यापार गरिरहेका व्यापारीहरु अहिले काठमाडौं महानगरले सटरमा सारेपछि भाडाको जोहो कसरी गर्ने भन्ने तनावमा छन् । सडक व्यापारबाट सटरमा सरेका व्यवसायीहरु अहिले निल्नु न ओकल्नुको अवस्थामा पुगेका छन् ।
सानो तिनो व्यापार व्यवसाय गरेर जसोतसो विहान बेलुकाको छाकको जोह गर्दै आएका व्यवसायी अहिले व्यवसाय परिवर्तन गर्ने मनस्थितिमा पुगेका छन् । कतिले व्यवसाय छाडेर पलायनसमेत भइसकेका छन् । साना तथा खुद्रा व्यवसायीलाई व्यापार व्यवसायमै टिकाइ राख्न स्थानीयदेखि केन्द्र सरकारले आवश्यक रणनीति बनाउनु पर्ने देखिएको छ ।
तर यसतर्फ सरकारको ध्यान जान सकेको छैन । मुलुकको अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्री र अर्थमन्त्रीले राष्ट्रिय रणनीति तय गर्नेदेखि अन्तर्राष्ट्रिय समुदायसँग हार गुहार गर्दै आएका छन् । तर नतिजा शून्य जस्तै छ । मुलुकको अर्थतन्त्र झनझन खस्किँदै डामाडोल अवस्थामा पुग्ने त होइन भन्ने चिन्ता व्यापारीदेखि नागरिकसम्म छाएको छ ।
प्रतिक्रिया