विदेश

सबै छुट्दा कहाँ छन् विपिन ? परराष्ट्रमन्त्रीको कतारसँग वार्ता, युद्ध विश्रामले हाईसन्चो


काठमाडौँ — इजरायल–हमासबीच जारी युद्धविश्राम थप एक दिन लम्बिने भएको छ । इजरायली सेनाले बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै हमाससँगको युद्धविश्राम लम्ब्याउने जनाएको हो । युद्धविश्राम लम्बिएसँगै नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा बढेको छ । अक्टोबर ७ मा झण्डै १६ हजार बढीको नरसंहारपछि इजरायल र हमासबीच गत शुक्रबारदेखि युद्धविश्राम जारी छ । सुरुमा चार दिनका लागि युद्धविश्राम गर्ने सहमति भएपनि बन्धक रिहाइको अवस्थालाई हेर्दै थप लम्ब्याउन दुवै पक्ष सहमत भएका छन् । दोस्रो पटक दुई दिनका लागि युद्धविश्राम थपिएकोमा बिहीबार सातौँ दिनसम्म आइपुग्दा फेरि लम्बिएको छ ।

हजारौंको ज्यान लिने गरी भएको झण्डै आठ हप्ता लामो द्वन्द्वपछि भएको युद्धविश्रामसँगै बन्धक रिहा प्रक्रिया पनि अगाडि बढेको छ । पछिल्लो पटक इजरायल र हमासले दुई पक्षबीच जारी युद्धविश्राम थप एक दिन लम्ब्याएका हुन् । दुवैतर्फ बन्धक तथा बन्दी रिहा गर्ने सहमतिअनुसार गत शुक्रबारदेखि चार दिनका लागि युद्धविराम घोषणा गरिएको थियो । तर दुवै पक्षको सहमतिमा युद्धविरामको अवधि १÷१ दिन थप गर्दै लगिएको हो । यसबीच इजरायलले आफ्ना जेलमा रहेका केही प्यालेस्टिनी बन्दी तथा हमासले आफ्नो नियन्त्रणमा रहेका बन्धकलाई रिहा गरेका छन् । युद्धविराम लम्बिएसँगै हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा बढेको छ ।

विपिनका परिवारले अहिले पनि उनको बाटो हेरिरहेका छन् । सरकारसंग हारगुहार गरेको र पीडित परिवारले पटक–पटक उनको अवस्था पत्ता लगाई नेपाल फर्काउन माग गरेका छन् । कूटनीतिक प्रयासलाई थप प्रभावकारी बनाइ विपिनको रिहाइका लागि काम गर्न उनका अभिभावकले आग्रह गरिरहेका छन् । सरकारको तर्फबाट जोशीको रिहाइको पहलका लागि मंसिर २३ गते परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन् ।

यसअघि मङ्सिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । यद्यपि युद्ध विश्रामलाई अझै लम्ब्याउँदै थप बन्दी रिहाका लागि पहल भइरहेकाले विपिन जोशी चाँडै छुट्ने सरकारको विश्वास छ ।