Breaking

राजाको शालिक बनाएर श्री ५ महाराजाधिराज लेखी असंवैधानिक काम भइरहेको छः अध्यक्ष ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतामा अन्योल र निराशा पैदा हुँदा विदेश पलायन हुँदै गएको अवस्थामा प्रतिक्रियावादी शक्तिहरू सल्बलाउन थालेको बताएका छन् । बिहीबार बैतडीको गोठलापानीमा आयोजित महाकाली(मेची अभियानअन्तर्गतको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजाको शालिक बनाएर श्री ५ महाराजाधिराज लेखी असंवैधानिक काम भइरहेको बताएका छन्। अध्यक्ष ओलीले गणतन्त्रको विरोध गर्ने दुस्साहसी काम भइरहेको बताए । अब नेपाली जनता पछाडि फर्किन नसक्ने भन्दै कोही धनी र कोही गरिब हुन जन्मिने कुरा स्वीकार्य नहुने ओलीले बताए ।

जनतामा अन्योल र निराशा बढ्दै गएको हुनाले जनता विदेशतिर पलायन हुँदै गएको हुनाले अहिले प्रतिक्रियावादी प्रतिगामी शक्तिहरू मौका आउँछ कि भनेर दुलाबाट टाउको निकालेर फेरि सल्बलाउन खोजेका छन् । अहिले हामी देखिरहेका छौँ, कहीँ उहिले राजतन्त्र थियो, त्यो राजतन्त्रको अहिले शालिक बनाएर, श्री ५ महाराजाधिराज भनेर लेखेर तमासा गर्ने असंवैधानिक काम अहिले भइरहेको छ, अध्यक्ष ओलीले भने, ‘गणतन्त्रको विरोध गर्ने, दुःसाहसी काम भइरहेको छ। लोकतन्त्रको विरोध गर्ने दुस्साहसी काम भइरहेको छ ।

तसर्थ हामी पछाडि फर्किन सक्दैनौँ, फेरि हामी रैती हुन सक्दैनौँ। फेरि हामी दास हुन सक्दैनौँ। फेरि हामी छुवाछुत र अनेक प्रकारतिर फर्किन सक्दैनौँ । फेरि हामी जन्मिँदै कोही राजा हुन जन्मिन्छ, कोही दास, कोही धनी र कोही गरिब हुन जन्मिन्छ भनेर मान्दैनौँ। अब गरिबी अन्त्य गर्नैपर्छ। अभाव, भोकमरी समाप्त गर्नैपर्छ ।