प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप २८)मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) जानुभएको छ ।
जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा पारेको प्रभावको एजेन्डा लिएर नेपाली प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री प्रचण्ड युएई जानुभएको हो । प्रधानमन्त्री प्रचण्डले सम्मेलनलाई शनिबार सम्बोधन गर्ने कार्यक्रम छ ।
कोप२८ सम्मेलन आजदेखि युएईको दुबईमा सुरु हुँदै छ । प्रधानमन्त्री प्रचण्ड मंसिर १५ र १६ मा ‘वर्ल्ड क्लाइमेट एक्सन समिट’अन्तर्गत ‘हाई लेभल सेग्मेन्ट’मा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले बिहीबार भने आबुधाबीमा रहेको नेपाली राजदूतावास भ्रमण गरेर त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।युएई भ्रमणका वेला उनी युएईको ५२औँ एकता दिवसमा आयोजित समारोहमा सहभागी हुने कार्यक्रम छ ।
प्रधानमन्त्रीले सम्मेलनमा सहभागी विभिन्न मुलुकका सरकारप्रमुख, राष्ट्रप्रमुख तथा उच्चस्तरीय नेतृत्वसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया