Breaking

देउवाको बलमा सत्तामा मस्त प्रचण्ड, मन्त्रीहरु आफ्नै पारामा, सरकार ढाल्ने ओलीको कसरत


काठमाडौँ — पहिलो र दोस्रो कार्यकाल ९ महिना सत्ता चलाएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल तेस्रो कार्यकाल भने वर्षदिन उन्मुख छ । तेस्रो दलको नेता भए पनि सरकारको नेतृत्व गर्ने अवसर प्रचण्डले पाएका छन् । सरकार जोगाउने मामिलामा प्रचण्ड पहिलेभन्दा चनाखो देखिन्छन । पहिलो र दोस्रो पटक ९÷९ महिना देशको प्रधानमन्त्रीको कार्यभार सम्हालेका पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा भने ११ महिनादेखि प्रधानमन्त्रीको कुर्सीमा छन् । तेस्रोपटक प्रधानमन्त्रीको सपथ लिँदै गर्दा देश र जनताको लागि केही परिवर्तन गरेर देखाउने अठोट लिएका प्रचण्डका लागि सत्ता जोगाउन सफल भएपनि जनजीविकाको विषय भने ओझेलमा परेका छन् ।

पाँच महिना सरकार विस्तारमै समय खर्चिएका प्रचण्डले सरकार विस्तारसँगै भ्रष्टाचारविरूद्धको फाइल खोलेर सुशासनको अभियान चलाएका थिए । यस अभियान अन्तर्गत नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन प्रकरणका फाइल खोलेर उनी चर्चामा आएका थिए । पछि अनुसन्धानको सुई आफ्नै पार्टीका नेतातिर सोझिन थालेपछि अभियान प्रभावित बन्यो । हाल यी तीनवटै विषय अदालतमा विचाराधीन अवस्थामा छन् । प्रमुख प्रतिपक्षी दल एमालेले सुशासन, राजनीतिक स्थायित्व, राष्ट्रियता र अर्थतन्त्र सुधारमा सरकार असफल भएको निष्कर्ष निकाल्दै सरकार ढाल्ने योजना बनाइरहेको छ । एमालेले प्रचण्ड नेतृत्वको सरकार अस्थिरताभित्र आफ्नो स्थायित्वको खोजीमा रमाइरहेको बताएको छ ।

२५ सदस्यीय मन्त्रिपरिषदमा केहीबाहेक मन्त्री गुमनामजस्तै छन् । केही मन्त्री सार्वजनिक खपतका लागि प्रचारबाजीमा लागेको अरोप छ । केही मन्त्रीका कार्यसम्पादनलाई लिएर विभिन्न माध्यमबाट प्रश्न उठिरहेका छन । पछिल्लो समय सडक तथा सामाजिक सञ्जालबाट सरकारलाई मात्र नभइ व्यवस्थामाथि नै धाबा बोल्ने क्रमले तीव्रता पाइरहेको छ । पछिल्लो समय व्यवस्था नै परिवर्तन गर्ने सपना देखेका राजावादीको आन्दोलनलाई मत्थर पर्न सरकार सफल भएको माओवादी नेताहरु दाबी गर्छन ।

वर्तमान नेतृत्वले लोकतन्त्र असल व्यवस्थाको रूपमा रहेको भन्दै व्यवस्था बचाउन बहस थालेको छ । तर, त्यही व्यवस्थामा रहेको नागरिकको अधिकारलाई कुण्ठित पार्न खोजिएको विश्लेषण हुन थालेको छ । ११ महिनादेखि सत्ताको तालाचाबी सम्हालिरहेका प्रचण्डले आफूलाई सफल ठान्ने गरेपनि आमजनताले भने सरकार भएको अनुभूति गर्न पाएका छैनन् । महंगी, बेरोजगारी, बेथिति र भ्रष्टाचार मौलाइरहेको छ । आम जनताको लागि प्रधानमन्त्री कार्यकालभन्दा पनि सरकारले गर्ने सुशासन र विकास महत्वपूर्ण हुन्छ । तर, सुशासन, सामाजिक न्याय र समृद्धिको नारा प्रचण्डको भाषणमै सीमित भएको छ ।