विदेश

हमासद्वारा बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण, विपिन जोशी नेपाल फर्काउन परिवारको माग


काठमाडौँ — इजरायल र हमासबीच अहिले ४ दिने अस्थायी युद्ध विश्राम छ । युद्ध विश्रामको तेस्रो दिन हमासले थप १७ बन्धकलाई रिहा गरेको छ । तेस्रो चरणसम्म बन्धक रिहा भइसक्दा पनि नेपालका विपिन जोशी छुटेका छैनन् । सरकारसंग हारगुहार गरेका पीडित परिवारले पटक–पटक छिटो नेपाल फर्काउन माग गरेका छन् । ४ दिने युद्धविश्राममा हमासले तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको छ । हमासले विज्ञप्ति जारी गरी गाजास्थित हमासको अल–कासम ब्रिगेड्सले इजरायली र विदेशी बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको जनाएको हो ।

अस्थायी युद्ध विश्रामको लागि मध्यस्थता गरेको कतारले तेस्रो समूहमा सात विदेशी नागरिकसमेत १३ जना रिहा हुने बताएको थियो । यसअघि इजरायली डिफेन्स फोर्स (आइडीएफ) ले आफ्नो एक्स (ट्वीटर) अकाउन्टमार्फत दिएको जानकारीमा बन्धकको तेस्रो समूहका १७ जनालाई रेडक्रसको जिम्मा लगाएको पुष्टि गरेको थियो । हमासले इजरायली १३, थाई ३ र अमेरिकी एक बालिकासहित १७ बन्धकलाई रिहा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

त्यसको बदलामा इजरायलले पहिलो चरणमा ४९ प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ । दोस्रो चरणमा हमासले १३ जना इजरायली र ४ जना थाई नागरिकलाई रिहा गरेको थियो । पहिलो चरणमा १३ इजरायली, १० थाई र एक फिलिपिनी नागरिकलाई हमासले रिहा गरेको थियो । कतारले मध्यस्थता गरेको इजरायल–हमासबीचको चार दिने अस्थायी युद्ध विश्राम र बन्दी आदानप्रदान गर्ने सम्झौताअन्तर्गत हमासले छाड्ने इजरायली बन्धकहरूको तेब्बर संख्यामा इजरायलले प्यालेस्टिनी बन्दीहरू छाड्ने गरेको छ । यससँगै इजरायलले समेत थप ३९ जना प्यालेस्टिनी बन्दी रिहा गरेको जनाएको छ ।

शुक्रबार बिहानदेखि युद्ध विश्राम लागू भएपछि १३ महिला र बालबालिका बन्धकहरूको पहिलो समूह इजिप्ट हुँदै इजरायलतर्फ फर्किएको थियो । तेस्रो चरणसम्म बन्धक रिहा भइसक्दा पनि नेपालका विपिन जोशी छुटेका छैनन् । विपिनका परिवारले अहिले पनि उनको बाटो हेरिरहेका छन् ।

सरकारसंग हारगुहार गरेका पीडित परिवारले पटक–पटक उनको अवस्था पत्ता लगाई नेपाल फर्काउन माग गरेका छन् । कूटनीतिक प्रयासलाई थप प्रभावकारी बनाइ विपिनको रिहाइका लागि काम गर्न उनका अभिभावकले आग्रह गरिरहेका छन् । तर, उनको अवस्थाबारे अझै कुनै संकेत मिलेको छैन । इजरायल–हमासबीचको संघर्ष विश्रामको समय सकिन लाग्दा उनको परिवारजन चिन्तित बनेका छन् । यद्यपि, युद्ध विश्रामलाई लम्ब्याउँदै थप बन्दी रिहाका लागि पहल भइरहेकाले विपिन चाँडै छुट्ने सरकारको विश्वास छ ।