Breaking

स्वास्थ्यमन्त्री बर्खास्त गर्न डा. गोविन्द केसीको माग


काठमाडौँ — चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेका छन् । मन्त्री बस्नेतले आफूलाई ‘गलत गिरोहबाट सञ्चालित’ भएको आरोप लगाएको भोलिपल्ट आइतबार विज्ञप्ति निकालेर डा. केसीले उनलाई पदबाट हटाउन सरकारसँग माग गरेका हुन् ।

मन्त्री बस्नेतले शनिबार राष्ट्रिय ट्रमा सेन्टरमा आयोजित कार्यक्रममा केसीले गलत माग लिएर अनसन बस्ने गरेको आरोप लगाएका थिए । मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’ भएको आरोप लगाउँदै डा. केसीले उनी पदमा बसिरहनु लोकतान्त्रिक मूल्य र मान्यताको बर्खिलाप भएको दाबी गरेका छन् ।

मापदण्ड नपुगेका र विगतमा ऐनविपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐनविपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानुनी र खेदपूर्ण कार्य हो’ डा. केसीले विज्ञप्तिमा लेखेका छन्, यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्डजीका स्वास्थ्यमन्त्री माफियाहरुका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यरमान्यताको बर्खिलाप हो। निजलाई तत्काल पदमुक्त गरियोस् । यस्तै डा. केसीले मन्त्री बस्नेतले मर्यादा विपरीतका क्रियाकलाप गरिरहेको आरोप पनि लगाएका छन् ।