विदेश

हमास–इजरायल युद्ध रोकियो, बन्धक घर फर्किए, विपिन जोशी कहिले फर्किएलान् ?


काटमाडौँ — अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपछि सुरु भएको युद्ध ४ दिनका लागि अस्थायी रुपमा रोकिएको छ । हजारौंको ज्यान लिने गरी भएको सात हप्ता लामो संघर्षपछि भएको अस्थायी युद्धविरामसँगै बन्धक बनाएकाहरु रिहा हुने क्रम जारी छ । रिहासंगै इजरायली प्रधानमन्त्रीको कार्यालयले हमासद्वारा बन्धक बनाएर रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेका छन् । झण्डै १६ हजार बढीको नरसंहारपछि इजरायल र हमासबीच शुक्रबारदेखि चारदिने युद्ध विराम लागु भएको छ ।

हजारौंको ज्यान लिने गरी भएको सात हप्ता लामो संघर्षपछि भएको युद्धविरामसँगै बन्धक रिहा प्रक्रिया पनि अगाडि बढेको छ । रिहासंगै इजरायली प्रधानमन्त्रीको कार्यालयले हमासद्वारा बन्धक बनाएर छोडिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । इजरायली प्रधानमन्त्री कार्यालयले हमाससँगको सम्झौताको एक भागका रूपमा उद्धार गरिएकामध्ये ११ विदेशी नागरिक रहेको जानकारी दिएको छ । तर यो सूचीमा नेपाली विद्यार्थी विपिन जोशी परेका छैनन् ।

विपिनका परिवारले अहिले पनि उनको बाटो हेरिरहेकाछन् । सरकारसंग हारगुहार गरेका पीडित परिवारले पटक–पटक छिटो अवस्था पत्ता लगाईदिन माग गरेकाछन् । उता अमेरिका र कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार उद्धार गरिएका २४ जना हमास बन्धकहरूको सट्टामा इजरायलले ३९ प्यालेस्टिनी बन्दीहरूलाई मुक्त गरेको छ । इजरायली सरकार सबै अपहरण र बेपत्ता व्यक्तिहरूलाई फिर्ता गर्न प्रतिबद्ध छ । प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । इजरायली प्रधानमन्त्री कार्यालयले स्वदेश फर्किएका १३ नागरिकको विवरण पनि सार्वजनिक गरेको छ ।

घर फर्किएका आशेर परिवारका तीन सदस्य डोरोन कात्ज, राज आशेर र अविव आशेर रहेका छन । त्यसैगरी अलोनी परिवारका रिहा भएका दुई सदस्य ड्यानियल अलोनी र अमेलिया अलोनी रहेका छन् । उद्धार गरिएका मोन्डर परिवारका रुथ मुन्डर केरेन मोन्डर र ओहद मोन्डर रहेका छन् । उनीहरूबाहेक अन्य पाँच इजरायली नागरिक छन् । इजरायल र हमासबीच कतारको मध्यस्थतामा भएको युद्धविराम शुक्रबार बिहान ७ बजे स्थानीय समयबाट लागू भएको थियो । यता अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई प्रक्रियाको शुरुवात भनेका छन् ।

उनले थप आशा व्यक्त गर्दै थुप्रै बन्धकहरू आउँदो केही दिनमा उनीहरूको परिवारमा फर्किने बताएका छन । प्रत्येक १० इजरायली बन्धकहरूको लागि थप एक दिन युद्धविरामको विस्तारको बदलामा हमासले थप बन्धकहरूलाई मुक्त गर्नु पर्नेछ । यद्यपि गत अक्टोबरदेखि हमास आतङ्ककारीहरूले बन्धक बनाएका २४० जनामध्ये रिहा गरिएका बन्धकहरू सानो सङ्ख्या मात्र हो । दुई पक्षबीचको अस्थायी युद्ध विरामले मध्यपूर्वी क्षेत्रमा दीर्घकालीन रुपमा शान्ति स्थापनाका लागि महत्पूर्ण सहयोग पुग्ने मध्यस्तकर्ता देशहरुको अपेक्षा छ ।