काठमाडौँ —दुर्गा प्रसाईंको अभियानबाट राजतन्त्र फर्किन्छ भन्ने विश्वास स्वयम् ज्ञानेन्द्र शाहलाई नै विश्वास नभएको अवस्थामा प्रचण्ड सरकारको भने होस हवास उडेको छ । यसअघि पनि व्यवस्थाविरुद्ध प्रदर्शन र विरोध हुँदै आए पनि प्रसाईंसँग मात्रै राज्य किन यति धेरै डराइरहेको छ ? प्रश्न स्वभाविक मान्न सकिने खालेको छैन । आफूलाई लोकतान्त्रिक दाबी गर्ने प्रचण्ड सरकारले नै अधिनायकवादी र सर्वसत्तावादी चरित्र देखाउन सुरु गरेको छ ।
गणतन्त्रका विरोधी एक विवादित अभियन्ता दुर्गा प्रसाईंको डरले राज्य सञ्चालकको निद हराम हुँदा उनैको सुरक्षार्थ भन्दै सरकार प्रसाईंलाई ‘होम एरेस्ट’ गर्न बाध्य बनेको छ । राजालाई फाले पनि राजाको प्रवृत्ति आत्मसात गरेका गणतन्त्रवादीले दुर्गादेखि डराएर लोकतन्त्रमा विरोध र प्रदर्शन गर्ने हकसम्म खोसिरिहेको छ । सडकमा हिँड्डुल गर्नेदेखि होटेलमा बास बस्ने आम सर्वसाधारणसम्म सबैलाई धरपकड गरिरहेको सरकार आफँैले नेतृत्व गरेको लोकतन्त्रकै उपहासमा उत्रिएको छ । राजालाई निरंकुश देख्ने गणतन्त्रवादी नै अहिले ज्यादतीपूर्ण व्यवहार देखाइरहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले केही दिन अघि बोलेको कुरो आज पुष्टि गरिदिएका छन् । जनतालाई शान्ति सुरक्षाको अनुभूति गराउनु पर्ने प्रहरी प्रशासन नै त्रसिद बनाउन तल्लिन छ । प्रसार्इंको एजेण्डा राजनीतिक वा राजतन्त्रवादी मात्रै पनि छैन । पूर्वराजा ज्ञानेन्द्रलाई नै प्रसाईंले राजतन्त्र फर्काउँछन् भन्ने विश्वास नभइरहेको बेला गणतन्त्रवादी भने प्रसाईंको अभियानले आजको भोलि नै राजा आउने पीरमा देखिन्छन् । जसका कारण प्रचण्ड सरकार चुप बस्न नहुने भन्दै अझै बढी दबाउनु पर्ने तर्क गर्न थालेको छ ।
आफैँले अराजकको संज्ञा दिएका प्रसाईंसँग भिड्न राज्यले ठूलै लगानी गरिरहेको छ । साम–दाम–दण्ड–भेद सबै उपाय अपनाएको सरकार ढाका टोपी, दौरा सुरुवाल र राष्ट्रिय झण्डा बोकेकासँग नै तर्सिन थालेको छ । प्रदर्शन र विरोध त अरुले पनि गरेका छन् तर, प्रसाईंसँग त्यस्तो के अभूत शक्ति छ र जसले गर्दा गणतन्त्रवादीहरू पानीबिनाको माछो जस्तै छटपटाउन थालेका हुन् ।
बिहीबार प्रसाईंको आह्वानमा उत्रिएका व्यवस्था विरोधी जनसागरले सत्तामा बस्नेको खुट्टा कामेको हो कि ? भन्ने जिज्ञासा पैदा गरेको छ । साथै गणतन्त्रण विरोधीहरुको प्रदर्शनमा भएको हस्तक्षेपले सरकार निर्मम् ढंगले अघि बढ्न खोजको कुरा पानी जस्तै छर्लङ्ग भएको छ । गणतन्त्रवादीहरूमा प्रसाईंको डर यतिसम्म पैदा भएको छ कि राजावादीहरू सडकमा आउँदा पनि अनुमति लिने पर्ने अवस्था आएको छ ।
गणतन्त्रको पक्षपोषण गर्नेहरू नै निरंकुश भइदिँदा राजावादीहरूमा यसले थप आक्रोश उत्पन्न भएको छ । मसान घाटमा पुगिसकेको राजतन्त्र फर्किने कुनै सम्भावना नै नरहेको र यो दिवास्वप्न मात्रै भएको भन्ने गणतन्त्रवादीहरू मामुली एक अभियन्ताको अभियानबाट किन यति धेरै भयभित भइरहेका छन् ? त्यो भने आश्चर्यजनक छ ।
प्रतिक्रिया