Breaking

बल्खुमा प्रहरीको ओइरो, दुर्गाका समर्थकलाई रोक्न हम्मेहम्मे, भिडन्तको डरले घरभित्रै थुनिए नागरिक


काठमाडौँ — अन्ततः मंसिर ७ मा के हुने हो भन्ने विभिन्न शंका र भयका बीच यसबाट पार मिलेको छ । बिहीबार महेश बस्नेत र दुर्गा प्रसाईं दुई समूहले गरेको शक्ति प्रदर्शनमा राजधानीको सुरक्षा व्यवस्था कस्तो रह्यो त ? मंसिर ७ गते संघीय राजधानी काठमाडौं निक्कै त्रासदीपूर्ण र अप्रिय घटना घट्ने संदेहका बीच शान्तिपूर्ण अवस्थामै दिन गुज्रियो ।

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल र मेडिकल व्यावसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को शक्ति प्रदर्शनले उग्र रुप लिन सक्ने आकलनका काठमाडौंमा विशेष सुरक्षा व्यवस्थासहित उच्च सतर्कता अपनाइएको थियो । तर, बिहीबार भएको प्रदर्शनले भने यी सबै अफबाहलाई मिथ्या सावित गरिदिएको छ । सुरक्षाका लागि सेनालाई समेत व्याकअपमा राखेको भनिए पनि बिहीबार सेनाको कतै आवश्यक परेन । सडकमा पनि कतै उपस्थित भएको देखिएन ।

यता, युवा संघले तीनकुनेमा गरेको शक्ति प्रदर्शन शान्तिपूर्ण रहेको राष्ट्रिय मानव अधिकारले पुष्टि गरेको छ । युवा संघको आन्दोलनमा कुनै मुठभेडको अवस्था नै सिर्जना भएन । सुरुमा तीनकुनेमा जम्मा भएका युवा संघ त्यहाँबाट कोटेश्वरसम्म फन्को लगाएर फेरि तीनकुनेमै फर्किएपछि कोणसभा गरिएको थियो, जसमा महेश बस्नेतसहित एमालेका विभिन्न जनवर्गीय संगठनका नेताहरुले भाषण गरेका थिए ।

बिहीबार बिहानसम्म सुरक्षा निकायका चारवटै अंगलाई तयारी अवस्थामा राखिएको सूचना आएका थिए । दिउँसो बल्खु क्षेत्र केही समय तनावपूर्ण समेत बनेको थियो । तर, उक्त अराजक गतिविधि नियन्त्रणमा लिन प्रहरी र सशस्त्र प्रहरी बल नै काफी बन्यो । त्यहाँ पनि सेनाको कतै उपस्थिति देखिएन । बल्खुमा सुरुमा युवासंघ र प्रसाईसमूहबीच झडप हुन पुगेको थियो । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खु आइपुगेपछि प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो ।

त्यसक्रममा प्रसाईं समर्थक ढुंगामुढा तथा तोडफोडमा उत्रिएका थिए । उनीहरुले केही सवारी साधनमा तोडफोड गर्दा क्षतिसमेत भएको छ । त्यसपछि फेरि प्रसाईका समर्थक र प्रहरीबीच घम्साघम्सीको अवस्था सिर्जना भयो । बल्खुमा प्रदर्शन गरिरहेका प्रसाईंका समर्थकहरु प्रहरीको घेरा तोडेर कालीमाटीतर्फ अघि बढ्न खोजेपछि त्यहाँ पनि प्रहरीले बल प्रयोग गर्दै अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नु परेको थियो ।

युवा संघको प्रदर्शनमा उच्छृंखल गतिविधि भएको पाइन । यसअघि शक्ति प्रदर्शनका कारण हुन सक्ने सम्भावित अप्रिय घटनालाई मध्य नजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।सरकारले विशेष सुरक्षा कार्ययोजना लागू गरेर उपत्यकाभित्रका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको सबै कमाण्डलाई परिचालन गरेको थियो भनेयसबाहेक थप मद्दतका लागि नेपाली सेना समेत स्ट्याण्ड बाई राखेको थियो ।

संघीय राजधानीमा बिहीबार दुई बेग्लाबेग्लै समूहले गरेको प्रदर्शनका क्रममा दुई पक्षबीच हुने झडप नियन्त्रणसहित शान्तिपूर्ण प्रदर्शन सुनिश्चित गर्न चारवटै सुरक्षा संयन्त्र परिचालन गरेको हो । यद्यपि,सेनाको आवश्यकता कही कतै परेन ।सुरक्षा निगरानीका लागि दुई प्रदर्शनस्थल तीनकुने र बल्खुमा ड्रोनको प्रयोग भएकोथियो भने मोबाइल नेटवर्कलाई प्रदर्शनस्थलक्षेत्रमा अवरुद्ध गर्न दुई थान जामर भेहिकलको समेत प्रयोग गरिएको थियो । प्रशासन र सुरक्षा बलको सतर्कताले बिहीबारको प्रदर्शनले सर्वसाधारणले सडकमा आफूलाई सुरक्षित नै महसुस गर्न पाए । यो नै सुरक्षा बलको बलियो पक्ष देखिएको थियो ।