Breaking

दुर्गाको दाबी–अपराधीका नाइके ओली हुन्, प्रचण्ड भन्छन्–दुर्गालाई छोडिन्न, अराजकताले हदै नाघ्यो


काठमाडौँ — नेकपा एमालेको युवा संघ र दुर्गा प्रसाई नेतृत्वको समूहले प्रर्दशन गर्नुअघि दुबै समूह एकअर्कालाई कमजोर बनाउने रणनीतिमा लागेका छन् । त्यसक्रममा अमानविय हर्कत देखाउन पनि उनीहरु पछि परेका छैनन् । त्यसमाथि सरकार पनि अराजक समूहहरुलाई उद्दन्ड हुनबाट रोक्नुपर्नेमा राजावादीलाई देखाइदिने धम्की दिईरहेको छ । भक्तपुरको लोकन्थलीस्थित एक बैंक्वेटको यो दृश्य हमासले इजरायलमा आतंक मच्चाए भन्दा कम छैन । बिहीबार दुई अराजक समूहको फाइनल भीडन्तअघि देखिएको अमानवीय हर्कत एमालेको युवासंघले देखाएको हो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको यो भिडिओमा युवाहरूको समूह सुतिरहेका महिलाहरू भएको ठाउँमा पुग्छ । एक जना महिला ओछ्यानबाट उठेर लुगा लगाउँदै गरेको देखिन्छ । उनी लुगा लगाउन दिनु भनेर विन्ती गर्छिन् । तर, युवासंघको टोलीले भने छिटो कि छिटो भनेर थर्काइरहन्छ । त्यहाँ १० मिनेटको समय दिएको समेत सुनिन्छ । दृश्यमा युवा संघले लखेट्यो भनेर दुर्गा प्रसाईलाई फोन गर्नसम्मै भनिरहेका छन् ।

महासंग्रामकै स्थितिमा पुग्दा समेत महेश बस्नेत र दुर्गा प्रसाईंको वाकयुद्ध कम भएको छैन । अझ बढ्दै गएको छ । हुँदाहुँदा महिला अस्मितामाथि नै प्रश्न उठाउने नीच हर्कतमा उत्रिदा राजनीतिका मूलधारे भने रमीते बनेका छन् । अँझ अराजकतामा साथ दिन एमाले अध्यक्ष केपी शर्मा ओली पनि अघि सरेका छन् । उनीहरु अहिले दिनभर आगो ओकल्ने र रात परेपछि राँको बाल्नेसम्मका गतिविधिमा सक्रिय देखिन्छन् । बुधबार भक्तपुर पुगेका प्रसाईं ओली ‘बा’ कै शैलीमा बार्दलीको मुनी कार्यक्रम गरेर ओली र बस्नेतलाई भक्तपुुरबाटै लखट्नेसम्मको चेतावनी दिईरहेका थिए ।

बृहत शान्ति सम्झौता १७ वर्ष पुगेको अवसरमा मंगलबार राती बालुवाटारमा देउवा, प्रचण्ड र ओलीको बैठक बसेको थियो । श्रोतका अनुसार ओलीले अराजक आन्दोलन एमालेले नगर्ने बताएपनि आन्दोलन फिर्ता लिन प्रचण्डले गरेको अनुरोधलाई स्वीकार गर्न सकेनन् । लगत्तै प्रचण्डले शीलतनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गरेका छन् । एमाले अध्यक्ष ओली स्वयं अराजकहरुलाई अब नछाडिने बताइरहेका छन् । आफ्नो पार्टीका कार्यकर्ताको अराजकतालाई नछोड्ने बताइरहेका छन् ।

सरकार स्वयं पनि सडकमा उत्रिएका शक्तिका कारण सर्वसाधारण जनतालाई अप्ठ्यारो नपरोस् भन्नका लागि सचेत रहनुपर्ने हो । तर, प्रधानमन्त्री प्रचण्ड नै सडकमा थप आक्रामक बन्नेगरि वल दिईरहेका छन् । जिम्मेवार बन्नुपर्ने सरकार नै राजावादीलाई देखाईदिन्छौं भन्दै आन्दालनलाई उस्काउने तरिकाले लागेको देखिन्छ ।

न राजनीतिक नीति न सिद्दान्त । न त जनजीविकाका मुद्दा । फगत सडकदेखि सत्तामा कसरी पुग्ने भन्ने मनोदशाबाट सडक संघर्ष गरिरहेका दुई समूहले जनतालाई भने पंगु बनाईरहेका छन् । सडकदेखि सत्तामा रहेकाहरुसम्म सबै अराजक नै बन्ने हो भने यसले बिहीबार मूठभेडको अवस्था ननिम्त्याउला र रक्तपातपूर्ण अवस्था नआउँला भन्न सकिँदैन ।