Breaking

सेना र प्रहरीको बैठकले जनता तर्सिए, ठाउँ–ठाउँ खानतलासी, युद्धकालीन अवस्थाको झल्को


काठमाडौँ — बिहीबार दुई समूहले गर्न लागेको प्रर्दशनले नागरिकमा एकखालको भयको वातावरण सिर्जना गरेको छ । यद्यपि, प्रहरीले भने दैनिक क्रियाकलाप निर्धक्क भएर गर्न र अफ्ठ्यारो परे खबर गर्न आग्रह गरेको छ । बिहीबार एकै दिन एमालेको भ्रातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसाईंले गर्न लागेको प्रर्दशनले सबैको ध्यान तोनेको छ । प्रर्दशनअघिका दुबै पक्षका अभिव्यक्ति र सक्रियताले नागरिकस्तरमा भने के–के नै हुँदैछ भन्ने आशंका पैदा गरेको छ ।

त्यसमाथि सरकारले पनि सुरक्षाका लागि सेना उतार्ने र निषेधाज्ञा लगाउनेसम्मको तयारी गर्दा नागरिकस्तरमा चासो र सम्भावित मूठभेडले निम्तिन सक्ने अवस्थाबारे चिन्तन मनन् गर्न बाध्य बनाएको छ । बिहिबार एमाले निकट युवा संघ र व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वको समूहले काठमाडौंको तीनकुने र बल्खुमा प्रदर्शन गर्दैछ । त्यसबाट निम्तिने अराजक गतिविधि रोक्न प्रहरीलेसमेत सक्रियता बढाएको छ ।

दुई समूहको प्रदर्शनलाई लक्षित गरी काठमाडौं र लिलितपुरका विभिन्न ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । यससँगै हतियारसहित केही मानिसहरु उपत्यका भित्रिएको आशंकामा प्रहरीले नाकाहरुमा समेत सुरक्षा ब्यबस्था कडा पारेको छ । केही निजी संघ संस्थाहरुले त बिहीबार आफ्ना सेवाहरु नै ठप्प पार्नेसम्मका निर्णय गर्न थालेका छन् ।

सरकारले सुरक्षामा आश्वास्त गराउनुपर्नेमा आफैँ अल्मलिए जस्तो देखाउँदा जनता झनै त्रसित छन् । कार्यक्रम स्थलमा उपत्यका प्रहरी कार्यालयका एआईजीको नेतृत्वमा प्रहरी खटाइएको छ । नागरिकलाई कुनैपनि किसिमको सुरक्षा थ्रेट नरहेको बताउँदै प्रहरीले ढुक्क भएर आफ्ना दैनिक क्रियाकलाप गर्न आग्रह गरेको छ ।

गृह मन्त्रालयले आवश्यक शान्ति सुरक्षाका लागि सबै संयन्त्र परिचालन गरेको छ । मापसेबाहेक चेकजाँचमा नपर्ने काठमाडौंवासीहरु अब प्रहरीको खानतलासीमा पर्न थालेका छन् । प्रहरीले शंकास्पद क्षेत्रमा गस्ती नै गरेर चेकजाँच गर्न थालेको छ । जसले नागरिकमा जनयुद्धताकाकै झल्को महासुस भइरहेको छ । झडप तथा अवाञ्छित गतिविधि रोक्न गृह मन्त्रालयले राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरलाई मंगलबारदेखि नै परिचालन गरेको छ ।

प्रशासनले बिहीबार चार वटै सुरक्षा निकाय परिचालन गर्दैछ । जिल्ला सुरक्षा समितिको छलफलले प्रहरी र सशस्त्र प्रहरीलाई फिल्डमा तथा नेपाली सेनालाई ब्याकअपमा राख्ने निर्णय गरेको छ । व्यक्तिगत रुपमा मर्ने र मार्ने संघारमा रहेका दुई समूहको मुठभेडमा सर्वसाधारण जनता पर्ने डर यत्रतत्र छ । यद्यपि प्रहरीको सक्रियता र आश्वासनले पनि सर्वसाधारण नागरिक आत्तिहाल्ने अवस्था देखिँदैन । तर सबैले आ–आफ्नो पक्षबाट चनाखो रहनु भने आवश्यक छ ।