विदेश

इजरायल र हमासबीच हुँदैछ युद्ध विराम, बन्धक रिहा हुने, इजरायली सेना फर्कने


काठमाडौँ — इजरायल र हमासबीच ४६ दिनदेखि जारी युद्ध अझै रोकिएको छैन । युद्धका कारण दुवैतर्फ गरी १४ हजार ४ सयभन्दा धेरैको ज्यान गएको छ । डेढ महिना लामो संघर्ष चलिरहँदा इजरायल र हमास सम्झौता नजिक पुगेको संकेत मिलेको छ । झण्डै साढे १४ हजारको नरसंहारपछि इजरायल र हमासबीच युद्ध विराम सम्झौता नजिक पुगेका संकेत मिलेकोे छ । हमासको नियन्त्रणमा रहेका २ सय ४० जना बन्धकमध्ये केहीलाई रिहा गर्ने विषयमा सम्झौता नजिक पुगेसँगै युद्ध विरामको आसा पलाएको हो । हमास नेता इस्माइल हानियाले इजराइलसँग युद्धविराम सम्झौता नजिक पुगेको बताएका छन् । ‘

हामी युद्धविराम सम्झौताको नजिक पुगेका छौँ’ एएफपीलाई उनको कार्यालयले पठाएको एक विज्ञप्तिमा उनले भनेका छन् । गाजामा युद्ध सुरु भएको केहीदेखि वार्ताकारहरूले प्यालेस्टिनी लडाकूहरूले बन्धक बनाएका दुई सय ४० मध्ये केहीलाई मुक्त गर्नका लागि एउटा सम्झौतामा पुग्ने प्रयास भइरहेको जनाइएको छ । नाम नबताउने सर्तमा एएफपीसँग कुरा गर्दै हमास र इस्लामिक जिहादको स्रोतले उनीहरूको आन्दोलन युद्धविराम सम्झौताको सर्तमा सहमति नजिक पुगेको बताएको छ । इस्लामिक जिहाद अर्को छुट्टै प्यालेस्टिनी लडाकू समूह हो । जसले अक्टोबर ७ को हमलामा पनि भाग लिएको थियो ।

अस्थायी सम्झौतामा पाँच दिने युद्धविराम समावेश छ । यसमा जमिनमा युद्धविराम र दक्षिणी गाजामा इजरायली हवाई सेवा सञ्चालनको सीमा समावेश छ । बदलामा प्यालिस्टिनी लडाकू समूहले आफ्नो नियन्त्रणमा राखेका ५० देखि एक सय जनालाई रिहा गरिनेछ । तीमध्ये इजराइली र अन्य मुलुकका मानिसलाई रिहा गरिने भनिए पनि कुनै पनि सैन्यकर्मीलाई भने रिहा गरिने छैन । प्रस्तावित सम्झौताअन्तर्गत महिला र बालबालिकासहित करिब तीन सय प्यालेस्टिनीलाई पनि इजराइली जेलहरूबाट रिहा गरिने छ ।

यता अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि बन्धकहरूलाई रिहा गर्ने सम्झौता नजिक पुगेको आफूले जानकारी पाएको बताएका छन् । उनका अनुसार कतारको मध्यस्थतामा वार्ता सकारात्मक दिशातर्फ अगाडि बढेको आशा गरिएको छ । कतारमा हमासको एउटा राजनीतिक कार्यालय छ भने इजराइलको पनि कतारसँग अप्रत्यक्ष कूटनीतिक सम्बन्ध छ । हमासले अक्टोबर ७ मा गरेको भीषण आक्रमणमा इजरायलतर्फ करिब एक हजार दुई सय मानिस मारिएका थिए । हमासका अनुसार इजराइली हमलामा गाजामा १३ हजार तीन सयभन्दा बढी मानिस मारिएका छन् ।