Breaking

निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

बैठकपछि प्रधानमन्त्रीले अर्थतन्त्र सुधारमा ठोस नीति घोषणा गर्ने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र चलायमान बनाउने विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दैछन् । छलफल आज दिउँसो दुई बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले यसै विषयमा सोमबार अर्थ मन्त्रालय, राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री, सचिव तथा अन्य सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरेका थिए । सोही छलफलले निजी क्षेत्रसँग पनि छलफल गर्ने निर्णय गरेको थियो ।

सोमबार प्रधानमन्त्री ’प्रचण्ड’ ले बोलाएको सरकारी निकायको छलफलले अवस्था सुधारोन्मुख रहेको निष्कर्ष निकालेको हो । अर्थतन्त्रमा देखिएका समस्याको समाधान खोज्न निजी क्षेत्र, राजनीतिक दल र विज्ञहरूसँग छलफल गर्नुअघि प्रधानमन्त्री प्रचण्डले आन्तरिक छलफल गरेकाहुन् ।

नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, धितोपत्र बोर्ड सहित, अर्थ, गृह, भौतिक पूर्वाधार, सहरी विकास, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्री तथा सचिवको उपस्थितिमा भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले ब्रिफिङ लिएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले प्रधानमन्त्रीको ११ महिने कार्यकालमा अर्थतन्त्रमा देखिएको सुधार र विद्यमान चुनौतीहरुबारे समीक्षाका लागि छलफल गर्न लागेको बताए । बैठकपछि प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकारले गर्ने केही ठोस नीति तथा कार्यक्रमहरु घोषणा गर्ने अपेक्षा गरिएको छ ।