खेलकुद

अस्ट्रेलियाले धुलो चटाएपछि भारतमा रुवाबासी, आगो लगाउनेदेखि टिभी फुटाउनेसम्म, मोदीको राजनीतिक प्रचार


काठमाडौँ — १२ वर्षसम्म एक दिवसीय क्रिकेट विश्वकप जित्न नसकेको भारतको यस पटक भने उपाधि घरैमा राख्ने मनोकांक्षा थियो । तर, ६ पटकको विश्वविजेता अष्ट्रेलियाले भारतको १२ वर्षको प्रतीक्षालाई अर्को चार वर्ष थप्दै १६ वर्षसम्म लम्ब्याई दिएको छ । मैदानमा उपस्थित सवा लाख दर्शकलाई पीडा दिँदै विश्वकपको उपाधि अष्ट्रेलियाले खोसेपछि भारतमा खेलाडी र फाइनल खेलसँग सम्बन्धित गतिविधिको टिकाटिप्पणीसँगै चर्काे आलोचनासमेत हुन थालेको छ । १३ औं संस्करणको एक दिवसिय क्रिकेट विश्वकपको फाइनल खेल हुनुपूर्व अष्ट्रेलियन कप्तान पेट कमिन्सको भनाई हो यो ।

भारत र अष्ट्रेलियाबीचको फाइनल खेल सुरु हुनु एक दिनअघि पत्रकार सम्मेलनमा कप्तान कमिन्सले भने झै सवा एक लाख दर्शकलाई निराश पार्दै आईतबार अष्ट्रेलियाले छैठौं पटक एक दिवसिय क्रिकेट विश्वकपमा आफ्नो नाम दर्ता गर्न सफल भएको छ । अष्ट्रेलियासँगको ६ विकेटको नमीठो हारसँगै घरैमा भएको विश्वकप जित्ने भारतको सपना पनि चक्नाचुर भएको छ । जसका कारण भारतीय समर्थकहरू आक्रोशित बनेका छन् ।

विश्वकप अघि र विश्वकपमा नै पनि भारतीय टिमले देखाएको खेल प्रदर्शनको प्रशंसा गरेर नथाक्ने समर्थकहरू अहिले उनीहरूको कमीकमजोरी निकाल्नमा व्यस्त छन् । केहीले घरका टिभी तोडफोड गरेका छन् भने केहीले त खेलाडीको जर्सी नै जलाएका छन् । जित्दा खेलाडीलाई देवत्वकरण गर्ने भारतीय सञ्चार माध्यम र समर्थकहरू हार्दा तल्लो स्तरको गाली गलौजमा नै उत्रिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित भएको फाइनल खेलमा भारतको हारलाई राजनीतिसँग पनि जोडेर हेरिएको छ । विश्वकप खेलाइएको १० रंगशालामध्ये अहमदावादकै नरेन्द्र मोदी स्टेडियम रोज्नुलाई मोदीले आफ्नो राजनीतिक प्रचार–प्रसारमा प्रयोग गरेको टिप्पणी हुन थालेको छ । वानखेडे, इडेन गार्डेन, चिन्नास्वामी जस्ता दशकौं देखि खेलिरहेको रंगशालामा नखेलाई तीन वर्षअघि मात्रै निर्माण सम्पन्न भएको रंगशालामा खेलाउँनुलाई मोदीले आफ्नो राजनीतिक फाइदा हेरेको भारतीय समर्थकहरूको बुझाई छ । भारतका चर्चित पत्रकार रविश कुमारले त भारतको हारका कारण नै प्रधानमन्त्री मोदीलाई मानेका छन् ।

मोदीको नाम नलिकनै उनलाई इंगित गर्दै पनौतीसमेत भन्न भ्याएका रविशले स्टेडियममा मोदीको उपस्थिति नै हारको प्रमुख कारण भएको संकेत गरेका हुन् । त्यस्तै केही सञ्चारकर्मीले भारत खेलअघि नै हारिसकेको टिप्पणी गरेका छन् । फाइनल खेलको अम्पाइरिङ गरेका रिचर्ड केटलबोरोलाई दोष दिएका छन् । किनकी रिचर्ड केटलबोरोले आईसीसीको जति नकआउट म्याचमा अम्पायरिङ गरेका छन्, ती सबैमा भारतले हार व्यहोरेको छ ।

एकदिवसीय विश्वकप सन् २०१५ को सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई हराउँदा, २०१६ को टी–२० विश्वकपमा वेष्ट इण्डिजसँग हार्दा वा च्याम्पियन्स ट्रफी २०१७ को फाइनलमा पाकिस्तानसँग हार्दा नै किन नहोस् केटलबोरो नै अम्पायर थिए । सन् २०१९ को विश्वकप सेमिफाइनलमा पनि न्यूजिल्याण्डसँग भारत हार्दा केटलबोरो नै फिल्ड अम्पायरमा खटिएका थिए । त्यसैले ५० वर्षीय बेलायती केटलबोरो भारतका लागि पनौती भएको उनीहरूको तर्क छ ।