विदेश

इजरायली सेनाको भिडियोले नेपालमा सनसनी, विपिन नै हुन् भन्ने के छ प्रमाण ?


काठमाडौँ — इजरायल र हमासबीचको ४५ दिने लामो संघर्ष जारी छ । हमासले एक नेपालीसहित २ सयभन्दा बढीलाई बन्धक बनाएको छ । यतिका दिनसम्म बन्धक बनाइएकाहरु कहाँ छन् अत्तोपत्तो छैन । पछिल्लो समय भने इजरायली सेनाले गाजाको एक अस्पतालको सिसिटिभी फुटेजहरु सार्वजानिक गरेको छ । उक्त भिडियोमा देखिएका बन्धक नेपाली र थाई नागरिक भएको आशंका गरिएको छ । इजरायल र हमासबीचको द्वन्द्व ४५ दिन बिद्दा पनि साम्य भएको छैन ।

हमास समुहको नामनिसान मेटाउने संकल्पका साथ इजरायली सुरक्षा फौज (आईडीएफ) अहिले गाजा क्षेत्रमा तैनाथ छ । ४५ दिनको युद्धमा इजरायलमा १० नेपालीसहित १२ सय जनाको ज्यान गएको थियो । यता गाजामा अहिलेसम्ममा कम्तिमा १३ हजार जनाले ज्यान गुमाएको पुष्टि भएको छ । अक्टोबर ७ मा हमास समुहले आफ्नो प्रतिरक्षाको लागि १ नेपालीसहित कम्तिमा २ सय जनालाई बन्धक बनाएर लगेको थियो ।

उनीहरुलाई अहिलेसम्म पनि हमासको हातबाट फुत्काउन सकेको छैन । त्यसो त अहिले हमासको नाम निसान मेटाउने संकल्प लिएको इजरायली सेना गाजाको विभिन्न अस्पतालहरुमा तैनाथ छ । जहाँ हमास समुहको लडाकुहरु अस्पताल मुनि बनाइएको सुरुङमा रहेको दाबी गरिएको थियो । दाबी अनुसार इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले सिसिटिभी भिडियोहरु पनि सार्वजानिक गरेको छ ।

(आइडिएफ)ले एक नेपाली र एक थाई नागरिकलाई घाइते अवस्थामा अस्पताल लगिँदै गरेको भिडिओ सार्वजनिक गरेको छ । आइडिएफले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत सार्वजनिक गरेको भिडिओमा हमासले २ जनालाई अस्पताल लैजाँदै गरेको दृश्यमा देखिन्छ । यद्यपि उनीहरु हमासले बन्धक बनाएका नेपाली र थाई नागरिक नै हुन् वा होइनन् भन्ने स्वतन्त्र पुष्टि भने कतैबाट हुन सकेको छैन ।

भिडियोमा एक जनालाई डोहो¥याइँदै अस्पतालभित्र लगिएको र अर्का व्यक्ति आफैँ पछिपछि हिँडेर गएको देखिन्छ । आइडिएफले सामाजिक सञ्जाल एक्समार्फत ती दुईमध्ये एक नेपाली र एक थाई नागरिक हुन सक्ने बताएको छ । उसले ती व्यक्तिहरू को हुन् र अहिले कहाँ छन् भन्ने नखुलेको जानकारी दिएको छ । द न्युयोर्क टाइम्सले उक्त दृश्य गाजाको अल–सिफा अस्पतालको रहेको पुष्टि गरेको छ ।

आइतबार रातिमात्रै आइडिएफले पनि विपिन जोशी हमासको बन्धकमा रहेको जानकारी गराउँदै तेल अबिबस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको छ । दूतावसाले विज्ञप्ति प्रकाशन गरेर यसको पुष्टि गरेको छ । आइडिएफको दाबी र दूतावासको विज्ञप्तिलाई आधार मान्दा हमासले घाइते अवस्थामा अस्पताल लगेका नेपाली विपिन जोशी हुनसक्ने आकलन गरिएको छ । हमासले उक्त सिसिटिभी भिडियोको आधिकारिकताबारे प्रश्न उठाएको छ । तर इजरायलले भने भिडियोमा देखिएका इजरायली नागरिकको पहिचान खुलाउँदै अस्पताललाई हमासले अखडा बनाएको यो बलियो प्रमाण भएको जिकिर गरेको छ ।