Breaking

राजावादीलाई तह लाउन मिले ओली प्रचण्ड, दुर्गाको डर हुँदा देउवाको भर भएन


काठमाडौँ — सत्तामा सँगै रहदा बाहेक एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बन्ध राजनीतिक रुपमा त्यती सहज रहँदैन । तर गत पुसमा धोका दिएका प्रचण्डप्रति ओली पछिल्लो केही समययता नरम बन्दै गएको देखिन्छ । यसलाई कतिपयले सत्ता सहयात्रासम्मकै संकेतका रुपमासमेत बुझ्न थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली सार्वजनिक मञ्च पाए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरिहाल्ने र कांग्रेसप्रति नरम देखिन्थे । शनिबार ठिक उल्टो दृश्य देखियो । एक कार्यक्रममा ओली प्रचण्डप्रति उदार तर कांग्रेसप्रति अलिक बढी आक्रामक देखिन्थे ।

उनले राष्ट्रपति रामचन्द्र पौडेललाई कांग्रेससँगै जोडेर आलोचना गरे । यद्यपि सम्बोधनका क्रममा २०६४ सालमा माओवादीले आफूलाई मार्ने षड्यन्त्र बनाएको आरोप लगाउँदै केही आक्रोशित बनेका ओली प्रचण्डप्रति भने नरम नै देखिन्थे । यही मंसिर ७ मा एमाले र दुर्गा प्रसाईंको समूहबीच महासंग्रामकै अवस्था बन्दा ओली प्रचण्डसँग केही लचक हुन थालेका हुन् । त्यसमाथि बैगुनी नातीले हजुरबुबाकै पोल खोल्न थालेपछि दबाबमा परेका ओलीले प्रसाईंलाई पक्राउ गर्न प्रधानमन्त्रीलाई दबाब नै दिएका बिषयसमेत सार्वजनिक भएका थिए ।

जाजरकोट र रुकुम पश्चिम भूकम्पको त्राशमा रहेकै बेला बसेको सर्वदलीय बैठकले प्रचण्ड र ओली नजिकिएका थिए । प्रधानमन्त्री प्रचण्ड गणतन्त्रविरोधी गतिविधिले पीरमा रहँदा ओलीले पनि लोकतान्त्रिक गणतन्त्रमाथि औँलो ठड्याउने काम एमालेले कहीँ कतै पनि हुन नदिने भन्दै ढाडस दिए । प्रचण्डसँगको सहयात्रा टुटेसँगै स्थीर सरकार बनाउने मुडमा रहेको एमालेको सत्ता सहयात्राको प्रस्तावलाई कांग्रेसले स्वीकार नगरेपछि ओली प्रचण्डसँग नजिकिन थालेको विश्लेषण छ । पछिल्लो समय टिकटक बन्द गर्ने सरकारको निर्णयमा पनि एमालेकै नेता कार्यकर्ताहरुले विरोध जनाइरहँदा ओलीको सर्मथन छ ।

प्रसाईं लगायतहरुको समूहले सामाजिक सञ्जालबाटै आफ्नै बद्नाम गर्न थालेको बुझेका ओली सो निर्णयको पक्षमा रहेको बुझ्न समस्या छैन । सत्तारुढ कांग्रेसको महामन्त्री तहबाटै सरकारको सो निर्णयको विरोध र सरकार फेर्नुपर्ने कांग्रेस संस्थापन इतर पक्षको लगातारको दवावले पनि ओली प्रचण्डसँग नजिकिएको हुनसक्ने कतिपयको आकलन छ । प्रचण्डसँग अहिले समाजवादी मोर्चामै आवद्ध दलहरुको असमझदारी बढ्दो छ । यहीबिचमा ओली वा देउवालाई सत्ताकै नेतृत्व दिएर भएपनि जनजीविकाका मुद्दामा काम गर्न सर्वदलीय सरकार बनाउनुपर्ने पक्षमा माओवादीकै नेताहरु खुल्न थालेका छन् ।

विगतमा एक अर्कालाई महाराजदेखि पागलसम्म घोषणा गर्न पछि नहट्ने ओली–प्रचण्ड प्रतिकूल अवस्थाका बाबजुद पनि भारतले लगाएको नाकाबन्दीका बेला एकजुट थिए । संविधान जारी हुनुअघि मधेसकेन्द्रित दलहरूको आन्दोलनलाई कारण देखाउँदै भारतले चासो दिन थालेको थियो । जुन ओली–प्रचण्ड दुबैले रुचाएका थिएनन् । संसद विघटनका बेला एकअर्कासँग पानी बाराबारको अवस्थामै पुगेका उनीहरु गत पुषमा सत्तास्वार्थकै लागि मिलेका थिए ।

संविधान संसोधनका लागि कांग्रेस, एमाले र माओवादी मिल्नसक्ने विश्लेषणका बिच व्यवस्थामाथि खतरा मडारिएको चर्चा पनि उत्तिकै छ । साथै यही मौका पारी प्रचण्ड–ओली मिल्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन । समय–समयमा प्रचण्डलाई तह लगाउन हौसिने ओली पछिल्लो समय माओवादीप्रति गरम देखिएपनि प्रचण्डप्रति भने नरम नै देखिएका छन् ।

कांग्रेस फकाएर थाकेका ओली कांग्रेसकै शैलीमा प्रचण्ड फकाउन लागेका हुन् कि भन्ने आशंकासमेत छ । कोशीमा शेखर बोकेर पार नलाग्ने बुझेका ओली अहिले एकातर्फ जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्री दिने कार्ड फालेर सत्ता गठबन्धनका विरुद्ध लागेका छन् । अर्कोतर्फ प्रचण्डसँगको पनि निकटता केका लागि हो त्यो भने हेर्न बाँकी छ ।