काठमाडौं । अर्थतन्त्र सुधारका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले बैठक बोलाउनुभएको छ ।
अर्थतन्त्रको अहिलेको अवस्था र चाल्नुपर्ने कदमका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले अन्तरनिकाय बैठक बोलाउनुभएको हो । आज अपराह्न ४ बजे अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधिको बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
विगतमा सरकारले गरेको प्रतिबद्धता, त्यसको कार्यान्वयन अवस्था र परिणाम, निजी क्षेत्रको माग, माग पूरा गर्ने सवालमा देखा पर्ने समस्या, अन्तर निकायमा देखिएको समन्वय अभाव लगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्र, राजनीतिक दलहरू, विज्ञ र सरोकारवालाहरूसँग पनि छलफल गर्ने तयारी गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि सरकारले ’बोल्ड’ निर्णय लिने बताउँदै आउनुभएको छ ।
प्रतिक्रिया