Breaking

कुलमानले पठाएका प्रहरीको टाउको फोडियो, डीएसपी नै कुटिए, लप्सीफेदीमा सवस्टेसन आतंक


काठमाडौँ — विद्युत सवस्टेशन निर्माणको विषयलाई लिएर स्थानीयहरु आक्रमणमा उत्रिएपछि काठमाडौंको लप्सीफेदीमा झडप भएको छ । झडपमा सुरक्षाकर्मीहरु घाइते भएका छन् ।जसले शुक्रबार राति लप्सीफेदीलाई तनावग्रस्त नै बनाएको छ ।
शुक्रबार राति काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबीच रातभर झडप चल्यो । प्रहरीको टाउको फोड्न स्थानीय उत्रिएपछि दुवैपक्षको मुडभेडले रणभूमिकै अवस्था बन्यो ।

स्थानीयले प्रहार गरेको ढुंगामुडाबाट सशस्त्र प्रहरी बलका डीएसपी देवराज राईसहित तीन जना सुरक्षाकर्मी ९ जना ठाउँको ठाउँ घाइते भए ।घटना लगत्तै आक्रमण गर्ने चार जना स्थानीयलाई पक्राउ गरेको प्रहरीले अहिले १४ जनालाई नियन्त्रणमा लिएको छ । यसरी सुरक्षाकर्मीमाथि स्थानीय जाईलाग्नुको कारण भने यहाँ नेपाल विद्युत प्राधिकरणले सबस्टेशन निर्माण गर्दैछ । तर स्थानीयले लगातार अवरोध गर्दै आएका छन् ।शुक्रबार बेलुका भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी दलबलसहितको टोली लिएर लप्सीफेदी गएका थिए । सवस्टेशन निर्माण र सुरक्षाका लागि भन्दै सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट स्थापना गर्न लागेपछि स्थानीयले सुरुमा प्रहरीका गाडी रोक्न खोजे ।

बाटोमा आगो दन्काएर छेक्ने प्रयास गरेपनि सुरक्षाकर्मीले भताभुंग बनाएर निभाइदिए । बाटोमै रुख ढालेर अवरोध गर्दा पनि सुरक्षाकर्मी ब्याक नभएपछि आन्दोलनमा उत्रिएका महिलाहरु सडकमै सुतेर रोक्ने कोशिस गरे । त्यतिगर्दा पनि सुरक्षाकर्मी नरोकिएपछि स्थानीयले आक्रमण गरेका हुन् । आफ्नो आवाजलाई दबाएर जबरजस्ती सवस्टेशन राख्न खोजिएपछि हुलदंगा भएर ढुंगामुडा गरेको स्थानीयले बताएका छन् ।कतिसम्म भने उनीहरुले यसलाई आदिबासीमाथिको बलजफ्ती भनेका छन् । एमसीसी परियोजना लगायतका विकास निर्माणलाई देखाएर अस्तित्व मेटाउन खोजेको आरोप लगाएका छन् ।

तर यो विरोध अहिलेको मात्रै होइन । गतबर्षदेखि यहाँ निरन्तर आन्दोलन र अवरोध चलिरहेको छ ।त्यति बेला पनि प्रहरीले दिनदाहाडै हाकाहाकी पेस्तोल ताकेर तर्साउन खोजे पनि स्थानीय चिढिएका थिए ।नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ लप्सीफेदीको बोझेनी सवस्टेशन निर्माणका काम गरेको छ । यहाँ तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरुमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन यसको प्रयोग हुनेछ । यसका लागि ४०० केभी, २२० केभी, १३२ केभी र ११ केभी सबस्टेसन निर्माण गर्न लागिएको छ ।सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने करिब १७४ रोपनी जग्गा ५० जना जग्गाधनीहरुबाटअधिग्रहण गरिएको छ ।

त्यसबापत जग्गाधनीहरुले करिब ५० करोड रुपैयाँ मुआब्जा तथा क्षतिपूर्ति रकम पनि बुझेका छन् । तर अहिले यो सवस्टेशन निर्माण सार्नुपर्ने भन्दै आन्दोलन चर्काएपछि सरकार निर्मम भएर अघि बढीरहेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भनेसबै कानूनी प्रक्रिया पूरा गरेको र उपलब्ध विकल्पहरुमध्ये हाल छनोट गरिएको स्थान नै सबैभन्दा उत्तम रहेकाले सवस्टेसन सार्न नसकिने बताइरहेका छन् ।

तर राष्ट्रिय सिमान्तीकरण विरुद्ध अभियान ‘समान नेपाल’ले नेतृत्व गरिरहेको यो आन्दोलन रोकिने अवस्थामा छैन । कुलमानले पनि स्थानीयका जायज मागलाई पुरा गर्दा पनि केही गैरसरकारी संस्था र असम्बन्धित व्यक्तिले उचाल्दा स्थानीय भड्किएको आरोप लगाएका छन् । फलतः मुडभेठ भएर टाउका फोडाफोडको अवस्था बनेको छ भने १८ अर्ब लागतमा बन्दै गरेका सवस्टेशनहरु प्रगती शून्य बनेका छन् ।