काठमाडौँ — सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि पक्ष र विपक्षमा बहस सुरु भएको छ । टिकटकमाथिको प्रतिबन्धलाई लिएर राजनीतिक दलका नेताहरुसमेत विभाजित भएका छन् । सत्तारुढ दलकै नेतादेखि युवा पुस्ताका नेताहरुले सरकारको निर्णयको आलोचना गरेका छन् । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णयसँगै पक्ष र विपक्षमा बहस छेडिने क्रम जारी छ ।
सोमबार बसेको मन्त्रिपरिषद वैठकले सामाजिक सञ्जाल टिकटकले सामाजिक सद्भाव बिथोल्ने काम गरेको भन्दै सरकारले बन्द गर्ने निर्णय गरेको थियो । टिकटक बन्द गर्ने सरकारको निर्णयको समर्थन र विरोधमा अहिले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा बहस तातिएको छ । आमसर्वसाधारणबीच नै यो विषयमा जुहारी चलिरहेको देख्न सकिन्छ ।
यसका साथै राजनीतिक नेतृत्व तहलाई पनि तरंगित पारेको छ । सत्तारुढ दलकै नेतासमेत सरकारको आलोचनामा उत्रिएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजमा विसंगति, विकृति, अराजकता फैलाउने र राज्यको जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष, प्रतिपक्ष सबैको सहमतिमा सरकारले यो निर्णय लिइएको दाबी गरेका छन् ।
टिकटक प्रतिबन्ध हुनासाथ चौतर्फी रुपमा आलोचित बनेका प्रधानमन्त्री प्रचण्डको प्रतिक्रिया सार्वजनिक हुनासाथ सामाजिक सञ्जालको बलमा राष्ट्रिय राजनीतिमा उदाएका नयाँ पुस्ताका नेताहरु उनीमाथि खनिएका छन् । संसदको प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टिकटक बन्द गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको भनेर प्रधानमन्त्रीले झुठो बोलेको भन्दै खण्डन गरेका छन् । उनले प्रधानमन्त्रीलाई आफ्नो गलत अभिव्यक्ति सच्याउन र सहमति जनाउने दलबारे स्पष्ट पार्नसमेत चुनौती दिएका छन् ।
यस्तै काठमाडांै महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्रको विकास गर्नुपर्ने तर बन्द नै गर्नु समाधान नभएको बताएका छन् । नेपाल संवतको अवसरमा मंगलबार मध्युपुर थिमिमा शंखधर साख्वाको प्रतिमामा माल्र्यापण गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्रीकै अगाडि सत्तारुढ दल कांग्रेसका नेता भीष्मराज आङदेम्बेले सरकारको निर्णयको आलोचना गरे । उनले टिकटकमाथिको प्रतिबन्ध तत्काल खारेज हुनैपर्ने माग गरे ।
टिकटकमाथिको प्रतिबन्धलाई लिएर नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि आलोचना गरेका छन् । नियमन गर्न सरकार चुकेको र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्न टिकटक बन्द गरेर गलत बाटोमा हिँडेको उनीहरुको टिप्पणी छ । सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध राजनीतिक विषय मात्र नभई भू–राजनीतिक विषय भएकोसमेत विश्लेषण हुन थालेको छ । यसले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध मात्र नभई चिनियाँ कम्पनीमाथि नै चुनौती प्रस्तुत गरेको टिकाटिप्पणी पनि भइरहेको छ । यो विषयले अझै केही दिन आमरुपमा बहस भने चर्काउने निश्चित छ । साथै टिकटक प्रतिबन्धको विषय राजनीतिकरण पनि हुने संकेत गरेको छ ।
प्रतिक्रिया