काठमाडौँ — नेपाल संवत ११४४ विभिन्न कार्यक्रम गरी मनाईएको छ । विशेष गरेर नेवार समुदायले अपनत्व लिएको नेपाल संवत प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेपाल सम्वत्को नयाँ वर्ष आरम्भ हुने गर्दछ । नेपाल सम्वत्लाई नेवार समुदायले राष्ट्रिय संवतको रुपमा कार्यन्वयन गर्न माग गर्दै आएका छन । काठमाडौं उपत्यकामा धुमधामका साथ नेपाल संवत मनाईएको छ । नेवार समुदायले अपनत्व लिएको नेपाल संवतलाई विभिन्न झाँकी भेषभुषा र रिति रिवाज सहित स्वागत गरिएको छ । नेवार समुदायले नेपाल संवत मार्फत नयाँ वर्षको स्वागत गरेकाछन् ।
नेवार समुदायले नयाँ वर्षको रुपमा मनाउने नेपालको मौलिक सम्वत नेपाल संवत ११४४ मंगलबारबाट सुरु भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरूवात गरेको इतिहासमा उल्लेख छ । विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेको स्थानमा नेपाल संवतलाई नयाँ वर्षको रुपमा भव्यताका साथ मनाउने गरिन्छ ।
नेपाल संवतको अवसरमा आयोजित कार्यक्रममा बोल्दै काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, बालेनले काठमाडौं महानगरपालिकाले पहिल्यैबाट नेपाल संवतको प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताएकाछन् । बालेनले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न सरकारले मुख्य भुमिका निभाउनुपर्नेमा जोड दिएका छन ।
नेपाल संवतको अवसरमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मान्यता दिलाउनको निम्ति नेवार समुदायले गरेको योगदानको प्रशंसा गरेका छन । प्रधानमन्त्री प्रचण्डले नेपाल संवत राष्ट्रिय संवत भएकाले सबै मिलेर मनाउनुपर्ने बताएका छन । प्रधानमन्त्रीले नेपाल संवतलाई राष्ट्रिय संवत भनेर मात्रै नपुग्ने भन्दै सबै सरकारी दस्ताबेजहरुमा उल्लेख गर्न अनिवार्य गरिएको बताएकाछन् ।
हाल प्रयोगमा रहेका अधिकांश संवतहरु राजाको नामबाट संवतको नामाकरण गरिएको पाइन्छ । विक्रम संवत्,मानदेव संवत, शाके संवत आदी केहि उदाहरण मान्न सकिन्छ । लिच्छिवीकालीन युगदेखि चलिआएको नेपाल संवत भने कुनै व्यक्ति विशेषको नाममा नभई जनताको प्रतिनिधित्व गर्ने संवतको रुपमा समेत चिनिन्छ । राष्ट्रिय संवतको मान्यता पाएको नेपालमा, नेपाल संवत कम चर्चामा छ । आफ्नै अस्तित्व र पहिचान बोकेको नेपाल संवत् विदेशी तिथि मितिका कारण ओझेलमा पर्दै आएको छ ।
भारत उज्जैनका राजा विक्रमादित्य द्वितीयले ल्याएको विक्रम संवत् नेपालको सरकारी कामकाजको माध्यमका रुपमा प्रयोगमा छ । नेपालको मौलिक संवत भने विगत झै आज पनि नेवारी समुदायको नयाँ वर्षको रुपमा मात्र परिचित छ । विगत लामो समयदेखि नेपाल संवतलाई सरकारी कामकाजको संवत बनाउने अभियान सञ्चालन गरे पनि यसको कार्यन्वयन हुन सकेको छैन ।
प्रतिक्रिया