Breaking

प्रचण्डको ज्ञानेन्द्र शैली, टिकटक बन्द: ठिक कि बेठिक ?, फेसबुक र युट्युब के होला ?


काठमाडौँ — सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय नेपालमा सामाजिक सद्भाव बिथोल्ने गतिविधि भइरहेको भन्दै आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो । सामाजिक सञ्जालमा बढ्दो अराजकताले नेपाली समाज र राजनीति तरंगित बन्न थालेपछि सरकारले कठोर निर्णय गरेको छ ।

केही दिनअघि ठूला दलहरुको सर्वदलीय बैठकमा अराजकताको एक प्रमुख कारक सामाजिक सञ्जाल पनि भएको भन्दै नियन्त्रण र नियमनका बिषयमा छलफल भएको थियो । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले पनि सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याएको थियो । जसमा फेक आइडी बनाउन नहुने, अरूलाई होच्याउन नहुने, सामाजिक सद्भाव र सहिष्णुतामा आँच हुने सामग्री राख्न नहुने, निजी मामिलाका फोटा अनुमतिबिना राख्न नपाइने प्रावधान थियो ।

त्यस सँगसँगै सामाजिक सञ्जाल कम्पनीहरू नेपालमा दर्ता हुनु पर्नेका साथै कार्यालय खोल्नुपर्ने प्रावधानसमेत राखिएको थियो । तर, चिनियाँ कम्पनीद्धारा सञ्चालित टिकटक भने एकाएक बन्द गर्ने निर्णयमा सरकार पुगेको हो । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको सरकारको स्पष्टोक्ति छ ।

सर्ट भिडियो प्ल्याटफर्म टिकटकमा बोलेका कुरालाई बंग्याउने तथा दोहोरो अर्थ लगाउने गतिविधि बढेपछि सरकारले नियन्त्रणको कदम अगाडि बढाएको हो । व्यवसायी दुर्गा प्रसाईं तथा नेकपा एमाले नेता महेश बस्नेतको भीडन्त पनि टीकटकमै देखिएको थियो । बस्नेतको अश्लिल भिडियो सार्वजनिक भएपछि प्रसाईंले अरु भिडियो पनि सार्वजनिक गर्ने बताएका थिए । सर्वसाधारण नागरिकदेखि राजनीतिक दलका नेताहरुसमेत टिकटकका प्रयोगकर्ता छन् ।

केही नेताहरुले आफ्नो अफिसियल टिकटक खाता नै खोलेर आफ्ना गतिविधिहरु प्रचार गर्दै आएका छन् । यो मामिलामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायत नेताहरु सक्रिय देखिन्छन् । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालय हाकेकी गंगा दाहालदेखि भरतपुर महानगर प्रमुख रेनु दाहाल पनि टिकटक प्रमी नै हुन् । अहिले नेताहरुको चर्को आलोचना र जनताको असन्तुष्टि पोखिने सहज माध्यम बनेको छ। सामाजिक सञ्जाल ।

त्यसमा पनि नेताका अभिव्यक्ति नै बङ्ग्याउनेदेखि चरित्रमाथि प्रश्न उठ्नसम्मका गतिविधि हुन थालेपछि नियन्त्रणको विकल्प नभएको निश्कर्षमा सरकार पुगेको हो । तर, अभिव्यक्ति स्वतन्त्रताका जानकारहरु भने सरकारले आफ्नो अर्कमण्यताको दोष सामाजिक सञ्जालमाथि थोपरेको बताउँछन् ।

पछिल्लो समय आमसर्वसधारणको व्यस्तता टिकटकमै देखिने गरेको थियो । टिकटक सही काममा प्रयोग भएकासमेत धेरै उदाहरणहरु छन् । टिकटककै कारण गाउँघरमा लुकेर रहेका प्रतिभाहरुले मूलधारमा स्थान पाएका छन् । कतिपयले टिकटकलाई नै आफ्नो व्यवसाय प्रवद्र्धनको माध्यम बनाउँदै प्रचारप्रसार गर्दै आएका छन् । तर सरकारले टिकटक बन्द गरेसँगै समाज दुई भागमा विभाजित भएको छ ।

धेरैले यसलाई अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम भनेका छन् । केहीले सरकारको निर्णय सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । टिकटक बन्द गर्ने नेपाल एक्लो देश होइन । भारत, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, नर्वे, न्यूजिल्याण्ड, डेनमार्क लगायतका देशले पनि टिकटकमाथि प्रतिबन्ध लगाएका छन् । विशेष गरी भारत र अमेरिकाले टिकटक चिनियाँ कम्पनी भएकै कारण आर्थिक र सुरक्षाका दृष्टिले चुनौती थपेको भन्दै प्रतिबन्ध लगाएका थिए ।

तर, नेपालमा भने चिनियाँ कम्पनी भएकै कारण टिकटक प्रतिबन्धमा परेको होइन । यसमाथिको नियमन र नियन्त्रण गर्ने सरकारी संयन्त्र कमजोर हुँदा तत्काललाई बन्द गर्ने निर्णय लिएकाले सरकारले कमजोरी सच्याएर फेरि टिकटकमाथिको प्रतिबन्ध खुला गर्न सक्ने सम्भावना पनि उत्तिकै रहेको जानकारहरुको टिप्पणी छ । यद्यपि, टिकटक बन्द गर्ने सरकारको कदमले भने उत्तरी छिमेकी चीनसँगको सम्बन्धमा असर पर्छ कि पर्दैन त्यो भने हेर्न बाँकी छ ।