Breaking

टेर्न छाडे बालेनलाई, व्यापारीको व्यापार बढ्यो, करोडौंको झिलिमिली बत्ति आयात


काठमाडौँ — नेपालीहरुको दोस्रो ठुलो पर्व तिहार नजिकिएसँगै बजारमा चहलपहल र झिलिमिली सुरु भएको छ । तर बढ्दो महँगीका कारण सर्वसाधरणको तिहार भने प्रभावित हुने देखिन्छ । यो दृश्य नेपालीहरूको दोस्रो महान् पर्व तिहार सुरु भएसँगै राजधानीको असन बजारमा किनमेल गर्न उर्लिएको जनसागरको हो । दीपावली सुरु भएसँगै संघीय राजधानी काठमाडौं उपत्यकाकाव्यापारिक क्षेत्रमा तिहारका लागि चाहिने आवश्यक सरसामान खरिद गर्ने सर्वसाधारणको भीड थामिनसक्नु छ ।

असनजस्तै उपत्यकाका इन्द्रचोक, भोटाहिटी, लगायतका प्रमुख व्यापारिक क्षेत्रमा झिलिमिली बत्तीदेखि, दियो, मखमली तथा सयपत्री फूल, सप्तरङ्गी टीका, तामा, पीत्तलका भाँडा, भाई मसलालगायत सामग्री किन्नेको घुइँचो लागेको हो ।काठमाडौं महानगरपालिकाले असनमा पार्किङ गर्न रोक लगाए पनि तिहारको बेलामा यसको कार्यान्वयन भने फितलो देखिएको छ ।

सामान किन्नेको भीडले थामिनसक्नु भएको असनचोकमा जथाभावी बाईक पार्किङ गर्दा अवस्था झन् अस्तव्यस्त बनेको छ । मुख्य व्यापारिक क्षेत्र असनचोकमा दशकौंदेखि व्यापार गर्दै आएका नरबहादुर महर्जन अन्य दिनको तुलनामा व्यापार राम्रो भएको बताउँछन् । भाईमसला बेच्नमा भ्याईनभ्याई उनी दशैंमा भन्दा पनि तिहरामा नै बढी व्यापार भएको अनुभव सुनाउँछन् ।

दीपावलीका लागि सामाग्री किन्न पुगेका खरिदकर्ताले बजारको माहोल तताएका छन् । बजारमा खुट्टा टेक्न मुश्किल छ भने, व्यापारीलाई सामान बेच्नमा भ्याई नभ्याई छ । तर, उपभोक्ता व्यापारीले चाडवाडको फाईदा उठाउँदै चर्काे मुल्य लिने गरेको बताउँछन् । केही समयअनुसार सामानको मूल्य बढ्नु स्वभाविक भएको तर्क गर्छन् भने केही खरिदकर्ता भने खाद्यान्नमा मूल्यवृद्धि गरेको गुनासो गर्छन् । समग्रमा दैनिक उपभोग्य वस्तुमा चर्को महँगीको सामना गरिरहेका नेपालीले चाडपर्वमा पनि यसबाट छुटकारा पाउन सकेनन् ।

उज्यालो पर्वका रुपमा लिईने तिहार आधुनिकतासँगै झिलिमिलि बत्तीले घर सजावटमा पनि परिणत हुँदै गएको छ । माटाको पाला, मैनबत्तीले लक्ष्मीको आगमनलाई उज्यालो पर्ने भए पनि अहिले झिलिमिलि बत्तिको परम्परा नै बनिसकेको छ । जसका कारण तिहारलाई लक्षित गरेरै व्यापारीहरुले चर्काे भन्सार तिरेरै भए पनि झिलिमिलि बत्तिको आयात गर्ने गर्छन् । जति नै मुल्यवृद्धि भए पनि यसको आयात भने वर्षेनी बढि नै रहेको छ ।

गतवर्ष ३६ करोडको झिलिमिलि बत्ती आयात गर्दा यसपटक ४५ करोडको आयात भएको नेपाल विद्युत् व्यावसायी महासंघले जनाएको छ । विगतका वर्षमा ५० सेन्ट भन्सार दर राख्दै आएकोमा यस वर्ष एक डलर राख्दा मूल्यवृद्धि भएको महासंघको भनाई छ । तिहारमा बालिने यस्तै झिलिमिली बत्तीकै कारण नेपालमा सबैभन्दा बढी विजुली खपत यही समयमा हुने गर्छ ।

तर, आयातमा निर्भर यस्ता बत्तिको बढ्दो प्रयोगको प्रत्यक्ष असर नेपालको अर्थतन्त्रमा परिरहेको छ । अन्य समयमा भन्दा चाडवाडमा बजारको माहोल तात्ने गर्छ । जसमा महंगीले पनि बढ्ने गरेको छ । चाहे त्यो सरकारले बढाएको भन्सार दरले होस् चाहे व्यापारीको मनलाग्दीले । यद्यपि, नागरिक ती सबै मूल्य तिर्न बाध्य छन् ।