Breaking

न्यायाधीश नियुक्ति प्रक्रिया छिटै टुंगिनेछ: प्रधानन्यायाधीश श्रेष्ठ


काठमाडौँ– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया छिटै टुंगिने बताउनुभएको छ । शुक्रवार सर्वोच्च अदालत बार एशोसिएशनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा बाँकी न्यायाधीश नियुक्ति प्रक्रियालाई छिटै टुंग्याउने बताउनु भयो । उहाँले आफूले छोटो समयमा पनि न्यायप्रतिको सक्रियता बढाउने काम गरेको दाबी गर्नुभयो । उहाँले महिलाहरु वादी भएका अंश मुद्दाहरु र नाताकायम मुद्दा छिटो छरितो गर्न अब चाँडै नै काठमाडौं जिल्ला अदालत बाहेकका अदालतमा पनि शुरु गर्ने बताउनु भयो ।

प्रधानन्यायाधीश श्रेष्ठले जुम्ला इजलास, धनकुटा इजलास, माइनगर इजलास र हेटौँडा इजलासमा चाँडै भिडियो कन्फ्रेन्सको माध्यमबाट बहस व्यावस्थापन गर्ने तयारी रहेको बताउनु भयो । प्रधानन्यायाधीश श्रेष्ठले काठमाडौं जिल्ला अदालतलाई सुव्यवस्थित बनाउन उच्चस्तरीय समिति निर्माण गरिएको र अध्ययन पछिको रिपोर्टका आधारमा लागू गर्ने बताउनु भयो । उहाँले अनलाइनमार्फत मुद्दा दर्ता गर्ने प्रणालीको अध्ययन भइरहेको पनि बताउनु भयो ।