Breaking

ओलीको गडमा दुर्गा प्रसाईंको शक्ति प्रदर्शन, गणतन्त्रवादीलाई लंकारे, मशेहलाई ओपन च्यालेन्ज


काठमाडौँ — मंसिर ७ गते राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियानका नाममा भेला गर्न लागेका व्यवसायी दुुर्गा प्रसाईंले बिहीबार झापामा शक्ति प्रर्दशन गरेका छन् । मेडिकल कलेजले सम्बन्धन नपाएपछि राजावादीको फेरो समातेका प्रसाईं एमालेसँग वारपारकै लडाईंमा देखिन्छन् । मंसिर ७ गते नै एमालेको युवा संघले पनि कार्यक्रम जुधाएपछि उनले झापाबाटै भिडन्तको आह्वान गरेका छन् । आँखामा चट्ट कालो चस्मा, घाँटीमा रातो गम्छा, उपरखुट्टी लाएर ठाँटका साथ मञ्चमा बसेका यी हुन्, गुण्डाका गुण्डा र डनका पनि डन दुर्गा प्रसाईं ।

यो अरु कसैको भनाइ होइन, उनी स्वयम्ले सार्वजनिक मञ्चमा उद्घोष गरेको शब्द हो । राजावादी र गणतन्त्रवादीे मुठभेडको संघारमा पुगेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र प्रसाईंकै गृह जिल्लामा उनले देखाएको यो हो शक्ति प्रर्दशनको झल्को । भनिन्छ, मान्छे विरक्तिएपछि भगवान र सन्तहरुको साहरा खोज्छ । भौतिकवादी कम्यूनिजम छाडेर गीताको छत्रछायामा पुगेका उनी आखिर ‘राजा सबैका साझा’ भन्ने बुझाईमा पुगेका छन् ।

मञ्चको पछाडि ब्यानरमा ‘गीता मेरो मार्गदर्शन’ लेखिएको छ, अगाडि २०८१ मा राजा फर्किने भविष्यावाणी गर्ने कथित सन्तहरु भेला पारेर मञ्चमा ठाँटका साथ बसेका छन् उनी । बिहीबार झापाको बिर्तामोडमा एमालेको युवा संघका कार्यकर्तालाई ‘झोले’ भन्दै सम्बोधन गरेका प्रसाईंले ओपन च्यालेञ्ज गरे । उनी भन्दै थिए– ‘नेता भनेको के हो ? म सिकाउँछु, यो देशमा जंगबहादुरको आवश्यकता छ । यो देशमा लि क्वान यू को आवश्यकता छ ।’

हुन पनि सामाजिक सञ्जालमा उनको पक्षमा देखिएको भिड, तर्सिएका एमालेका ओली बा, प्रहरीले सम्झाएर उल्टै हिरो बनाएको वातावरण र प्रसाईंलाई नै तह लगाउन सामाजिक सञ्जालमा कडाई गर्न सरकार नै लागी परेकोदेखि व्यवस्थामै कालो बादल डगमगाएको भाष्यले उनलाई एमाले र सरकारले नै नेता बनाइरहेको छ । के प्रसाईं जंगबहादुर, लि क्वान यू वा राजा नै बन्न खोजेका हुन् ? त्यो भने स्पष्ट छैन । तर, चरेसको थालमा मार्सी चामलको भात खुवाउँदासमेत आफ्नो बी एण्ड सी मेडिकल कलेजले सम्बन्धन नपाएको कुराले भने उनलाई बारम्बार पिरोली रहन्छ ।

प्रचण्ड–ओलीले धोका दिएपछि राजाको फेरो समात्दै सडक संघर्षमा आइपुगेका प्रसाईं अहिले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियानका नाममा देश दौडाहामा छन् । यो अभियानसँगै देशभित्रका केही धनाढ्यविरुद्ध पनि उनी आक्रोशित बनेका छन् । विशेष गरी मारवाडी समुदायका व्यवसायीविरुद्ध उनी आगो नै ओकल्छन् ।
झापामा मेडिकल कजेल सञ्चालन गरेर एकल राज गर्ने राजनीतिक सपना डा. गोविन्द केसीको सत्याग्रहले चकनाचुर पारिदियो । एमालेका बाउ र हजुरबाउको पनि साथ गुमाएपछि उनी घाइते बाघजस्तो विरोधीलाई चिथोर्ने अवस्थामा पुगेका छन् । उनै प्रसार्इंले मंसिर ७ गते राजा ल्याउन भन्दै लाखौँ जनता सकडमा उर्तादैछन् ।

त्यही दिन नेकपा एमालेको युवा संघले पनि कार्यक्रम जुधाएको छ । प्रसाईं अहले उनै हजुरबा ओलीको पोल खोल्दै हिँडिरहेका छन् । हुँदाहुँदा प्रसाईंले गणतन्त्र र भ्रष्टाचारविरुद्धको आफ्नो अभियानमा ठूला दलहरुसँगै ५०–५० लाख रुपियाँ आर्थिक सहयोग मागे । त्यसका लागि आफूले क्यूआर कोड पठाएको उनको भनाइ छ । तर जानकारहरु दुर्गा प्रसाईंको यो छटपटी फगत व्यापार भन्दा अरु केही नभएको बताउँछन् ।

मेडिकल कलेजमा ५०० करोडको लगानी बालुवामा पानी खनाए सरी भएपछि राजा बोकेर हिँडेका प्रसाईंलाई पनि राजावदीहरुले नै बोकिरहेका छन् । प्रसाईंका लागि यो अभियान घाटाको ब्यापार नहोला तर, बढ्दो अराजकता र बेथितीले चाहिँ देशलाई घाटा पर्ने निश्चित छ । यो अभियानले भविश्यमा प्रसाईं शक्तिमै पुगेपनि अहिले व्यक्त अभिव्यक्ति उनैलाई भारी पर्ने निश्चित छ । धमिलो पानीमा माछा मार्ने सोच मात्रै हो भने पानी धमिलो छउञ्जेल उनी फक्रिन्छन् । प्रसाईंको अराजकतामै भविश्य खोज्नेहरु भने अन्तत्वगत्वा धोका खाने पक्का छ ।