देश

‘डिपफेक’ को चपेटामा सेलिब्रेटी, यसरी नंग्याईदै छ कलाकार, कानुनी उपचारको खोजी


काठमाडौँ — पछिल्लो समय ‘डिपफेक’ भिडियोेको चर्चा निकै हुने गरेको छ । मानिसहरुलाई बहकाउनका लागि विश्वभर डिपफेक प्रविधिबाट तयार पारिएका भिडियोको प्रयोग धेरै हुन थालेको छ । यसको सिकार पछिल्लो समय दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दाना भएकी छन् । भिडियोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले कानुनी कारबाहीको मागसमेत गरेका छन् । सूचना प्रविधिको विकाससँगै अहिले इन्टरनेटमा ‘फेक’ सामग्रीको बिगबिगी छ । क्षणिक स्वार्थका लागि विश्वभर डिपफेक प्रविधिबाट तयार पारिएका भिडियोको प्रयोग बढ्दै गएको छ ।

आर्टिफेसियल इन्टेलिजेन्स (एआई) को सहयोगमा कुनै व्यक्तिको अनुहार, बोली र हाउभाउ दुरुस्तै हुने गरी भिडियो बनाउने प्रविधिलाई डिपफेक भनिन्छ । यो पत्ता लगाउन निकै मुस्किल हुन्छ । कुन सन्देश वा भिडियो, सही हो वा झुट भन्नै सकिन्न । यसको चरम दुरुपयोग हुँदा पछिल्लो समय सेलिब्रेटीहरुको करिअरमासमेत गम्भीर असर पर्न थालेको छ । केही दिनदेखि दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाको भन्दै एक भिडियो भाइरल बनिरहेको छ ।

तर सो भिडियो डिपफेक भिडियो हो । तर पनि इन्टरनेटमा भाइरल बनिरहेको सो भिडियोको चर्चा सेलाएको छैन । यसमा रश्मिका जस्तै देखिने एउटी युवती डीप नेक भएको कालो पोशाकमा लिफ्टमा चढेको देखिन्छ । भिडियोमा लिफ्टमा छिर्दै गर्दा युवतीको अनुहार रश्मिकाको अनुहारमा बदलिएको देखिन्छ ।

दर्शकले उक्त भिडियो हेर्दा सहजै रश्मिकाको नै हो भनेर विश्वास गर्छन् । तर, वास्तविकता त्यस्तो होइन । रश्मिकाको डिपफेक भिडियो बनाएर भाइरल बनाइएको हो । क्यामेरो अगाडि मुस्कुराउँदै उनी लिफ्टमा चढेकी छन् । जारा पटेल नाम गरेकी ब्रिटिस–इन्डियन यूवतीको भिडियोमा रश्मिकाको अनुहार जोडेर यो भिडियो तयार पारिएको हो । भिडियो भाइरल भएपछि रश्मिकाले सामाजिक संजालबाट आपत्ती जनाउँदै भोलिको दिनमा यसले थुप्रै मानिसहरुलाई समस्यामा पार्न सक्ने चेतावनी दिएकी छन् । रश्मिकाको भिडियो भाइरल भएसँगै बलिउडका शहंशाह अभिताभ बच्चनले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । सो भिडियोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले कानुनी कारबाहीको माग गरे ।

अभिताभले एक जना एक्स प्रयोगकर्ताको पोष्टलाई रिट्विट गर्दै यस्तो घटनाविरुद्ध कानुनी कारबाही गर्न आग्रह गरेका हुन् । मनोरञ्जनको प्रयोजनका लागि बनाइएका यस्ता प्रविधिहरुले कालान्तरमा दुरुपयोग भएर जोखिमपूर्ण स्थिति सिर्जना गर्ने संभावना बढ्दै गएको छ । यस्ता प्रविधि दुरुपयोग भएको खण्डमा सामान्य सामाजिक जीवनसमेत खलबलिने जोखिम छ । अझ डिजिटल साक्षरताको कमी भएको नेपाल जस्तो मुलुकमा यस्ता प्रविधिले विकराल समस्या ल्याउने विज्ञहरुको विश्लेषण छ ।

भारतीय अभिनेत्री रश्मिका मन्दानामाथि भएको यो दूव्र्यवहार एउटा उदाहरण मात्रै हो । अहिले संसारभर यस किसिमका हजारौँ गतिविधि भइरहेका छन् । कतिबेला को डिपफेकको सिकार हुन्छन्, भन्न सकिन्न । त्यसैले यसबारे सरोकारवाला निकाय र सामाजिक सञ्जाल प्रयोगकर्ता बेलैमा सहजक र सतर्क हुन आवश्यक छ ।