समाचार

गोर्खा ब्रुअरीद्वारा भूकम्प पीडितका लागि एक करोड सहयोग


काठमाडौँ – गोर्खा ब्रुअरी प्रालिले हालैका भूकम्प पीडितको पुनःस्थापनाका लागि नेपाल सरकारलाई एक करोड रूपैयाँ सहयोग गरेको छ । उक्त रकमको चेक गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्रीले यस चुनौतीपूर्ण समयमा स्वतःस्फूर्त रूपमा गरिएको सहयोगलाई धन्यवाद दिए । डीएमडी सुरेन्द्र सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को घडीमा सहयोग गर्न पाएकोमा सन्तुष्टि रहेको बताए ।

उनले यसअघि पनि गोर्खा ब्रुअरीले देशमा आइपरेको प्राकृतिक विपत्तिहरूमा उल्लेख्य सहयोग गर्दै आएको, विशेष गरी कोभिड महामारी र २०७२ को महाभूकम्प पछि कर्पोरेटहरू मध्येबाट सबैभन्दा ठुलो सहयोग गरेको उल्लेख गरे ।