खेलकुद

क्रिकेटमा नयाँ नयाँ विश्व रेकर्ड, को–को चम्किए ? कस्तो छ कसको रेकर्ड ?


काठमाडौँ — भारतमा जारी विश्वकप क्रिकेटमा केही खेलाडीले विश्वकीर्तिमान कायम गरेका छन् । यसरी कीर्तिमान कायम गर्नेमध्ये केही खेलाडीको विश्व रेकर्ड अविश्वसनीय र दुलर्भ पनि छन् । जारी विश्वकप क्रिकेटमा पुराना कीर्तिमान तोडिएका र नयाँ कायम भएका कीर्तिमानबारे । भारतमा जारी १३ औं संस्करणको विश्वकप क्रिकेटमा आयोजक भारतसँगै इङ्ल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स मैदानमा उत्रिए । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा केही खेलाडीले आफ्नो नाममा विश्व कीर्तिमान दर्ता गरेका छन् ।

यसक्रममा पाकिस्तानी बलर साहिन शाह अफ्रिदीले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो एक सय विकेट लिने तीव्र बलरको कीर्तिमान बनाए । उनले बंगलादेशविरुद्धको खेलमा एक सय विकेट पूरा गर्दै कीर्तिमान कायम गरेका हुन् । २३ वर्षीय अफ्रिदीले ५१ खेलमा एक सय विकेट पूरा गरेका थिए । उनले अस्ट्रेलियन बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका हुन् । त्यस्तै अर्को कीर्तिमान पनि पकिस्तानले नै दर्ता गरेको छ । श्रीलंकालाई ६ विकेटले हराउने क्रममा पाकिस्तानले विश्वकप इतिहासमै सबैभन्दा ठूलो लक्ष्य भेट्टाउने कीर्तिमान बनायो । ३ सय ४५ रनको विशाल लक्ष्य पाकिस्तानले ४८.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । विश्वकप इतिहासमा यो सबैभन्दा ठूलो लक्ष्य हो ।

यसअघि सन् २०११ को विश्वकपमा आयरल्यान्डले इंग्ल्यान्डविरुद्ध ३ सय २८ रनको लक्ष्य पूरा गरेको थियो । यस्तै अर्को कीर्तिमान बनाउने क्रममा भारतीय फास्ट बलर मोहम्मद शामी सर्वाधिक विकेट लिने पहिलो भारतीय खेलाडी बने । शामीले श्रीलंकाविरुद्धको खेलमा पाँच विकेट लिएर विश्वकपमा सर्वाधिक विकेट लिने पहिलो भारतीय खेलाडी बन्न सफल भएका हुन् । शामीले तीन विश्वकपका १४ खेलमा ४५ विकेट लिएर यस्तो कीर्तिमान बनाएका हुन् । यसअघि विश्वकप क्रिकेटको इतिहासमा जवागल श्रीनाथ र जाहिर खानले ४४ – ४४ समान विकेट लिएका थिए ।

यस्तै भारतका कप्तान रोहित शर्माले पनि कीर्तिमान बनाए । अफगानिस्तानविरुद्धको खेलमा उनले ८४ बलमा १६ चौका र पाँच छक्का प्रहार गर्दै सर्वाधिक एक सय ३१ रन बनाए । उनी विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बने । यसअघि विश्वकपमा भारतका पूर्वकप्तान सचिन तेन्दुलकरले ६ तथा श्रीलङकाका पूर्वकप्तान कुमार सङ्गाकारा र रिक्की पोन्टिङले पाँच–पाँच शतक प्रहार गरेका थिए । यता अफगानिस्तानका इब्राहिम जद्रानले पनि विश्व रेकर्ड बनाए । उनी विश्वकपमा शतक हान्ने पहिलो अफगानी ब्याटर बनेका छन् ।

उनले १ सय ४३ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक १ सय २९ रन बनाएका थिए । यस्तै अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले पनि ओडीआई क्रिकेट इतिहासमा लक्ष्य पछ्याउँदा दोहोरो शतक हान्ने पहिलो खेलाडीको कीर्तिमान कायम गरे । ओपनरबाहेक अन्य कुनैपनि ब्याटरले दोहोरो शतक हानेका थिएनन् । तर म्याक्सवेलले अफगानिस्तानविरुद्धको खेलमा छैटौं नम्बरमा आएर दोहोरो शतक हाने । अष्ट्रेलियाबाट ओडीआईमा दोहोरो शतक हान्ने पहिलो खेलाडी पनि बनेका छन् उनी । १३ औं संस्करणको विश्वकप क्रिकेट अझै जारी छ । यसक्रममा अझै यस्ता नयाँ नयाँ कीर्तिमानहरु बन्ने सम्भावना उतिकै छ । बाँकी खेलमा के कस्ता नयाँ कीर्तिमान बन्ने छन् त्यो भने हेर्न बाँकी छ ।