Breaking

पाटनमा दुई बिरामीको रहस्यमयी मृत्यु, डाक्टरले खाए कुटाई, अस्पताल बन्द, भ्याक्सिनको परीक्षण हुँदै


काठमाडौँ — अस्पतालमा उपचाररत दुई जना विरामी ईन्जेक्सनको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएपछि ललितपुरको पाटन अस्पताल अस्तव्यस्त छ । शनिवार दिउँसो कार्यस्थलमा खटिएका नर्सले ईन्जेक्सन लगाउनासाथ दुबै बिरामीको मृत्यु भएपछि सुरु भएको तनाव अझै जारी छ । घटना अनुसन्धान प्रक्रियामा प्रवेश गरेपछि आफ्नो सुरक्षाको माग गर्दै सेवा नै बन्द गरेर चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन । पाटन अस्पतालको जेष्ठ नागरिक वार्डमा उपचाररत ललितपुरका ६८ वर्षिय कृष्ण बहादुर नगरकोटी लगभग निको भईसकेका थिए ।

कार्तिक १० गते नै अस्पताल भर्ना भएर निमोनियाको उपचार गराई रहेका उनी आइतवार डिस्चार्ज हुने पक्का थियो । तर उनले शनिवार नै उपचाररत अस्पतालबाट विदा भए । शनिवार दिउँसो डिउटीमा खटिएका नर्सले ईन्जेक्सन लगाए लगत्तै उनको मुत्यु भयो । नगरकोटी मात्र होइन कार्तिक १६ गते अस्पतालमा भर्ना भएर जेष्ठ नागरिक वार्डमै उपचाररत ९० वर्षकी जनमाया राईको पनि ईन्जेक्सनको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भयो ।

औषधि दिएको केहीबेरमा नै विरामीको मृत्यु भएपछि आफन्तले चिकित्सक र औषधिलाई दोष दिएका छन । एउटै वार्डमा सुईमार्फत एन्टिबायोटिक औषधि दिएको पाँचदेखि सात मिनेटभित्र एकाएक दुई जना विरामीको रहस्यमय मृत्यु भएपछि आफन्त आक्रोशित हुँदै स्वाथ्यकर्मीमाथी खनिए । चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको मृतकका आफन्तको आरोप लगाएका छन ।

अस्पातलमा भर्ना भएर उपचाररत दुवै विरामीलाई ‘सेफ्ट्रियाक्सोन’ र रगत पातलो गर्ने औषधि ‘हेपारिन’ चलाइएको थियो । निमोनियाको संक्रमणको उपचारमा रहेका दुवै विरामीलाई नियमित रुपमा नै चलाउँदै आइरहेको औषधि नै चलाइएको अस्पतालको दावी छ । तर एन्टिबायोटिक औषधि दिएको केहिबेरमा नै भएको विरामीको मृत्युले अस्पताल क्षेत्र तनावपूर्ण बनेको छ । विरामीलाई प्रयोग भएका औषधिको अनुसन्धानका लागि पठाइएको र शवलाई पोष्टमार्टमका लागि पठाइएको पाटन अस्पतालले जनाएको छ ।

घटना लगत्तै आफन्तले चिकित्सकमाथि हातपातसमेत गरेका छन् । बिरामीका आफन्त कुटपीटमै उत्रिएपछि अहिले पाटन अस्पतालका चिकित्सक सबै सेवा बन्द गरेर आन्दोलनमा छन । अस्पतालको आकस्मिकबाहेक सबै सेवा ठप्प गरेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । प्रचलित कानून बमोजिम चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने उनीहरुको चेतावनी दिएका छन ।

चिकित्सकलाई बन्धक बनाउने, कुटपिट गर्नेलाई कारबाही गर्ने काम नगरेको भन्दै सरकार र प्रहरी प्रशासनमाथी चिकित्सकहरु खनिएका छन । स्वास्थ्य जस्तो संवेदनशील विषयमा स्वास्थ्यकर्मी नै असंवेदनशील बन्ने गरेको बहस भईरहँदा पाटन अस्पतालमा भएको यो घटनाले थप झस्काएको छ ।

अर्कोतर्फ विरामीको सेवामा समर्पित स्वास्थ्यकर्मीमाथी हुने गरेको एकपछि अर्को हमालले स्वास्थ्यकर्मी थप असुरक्षित छन् । एक–अर्कामा बढ्दो अविश्वासका कारण स्वास्थ्य क्षेत्र थप विकृत बन्ने भय बढेको छ । यसतर्फ सरकार र सरोकारवाला निकाय समयमा नै गम्भिर बन्ने कि ?