Breaking

काठमाडौं महानगरपालिकाले जाजरकोट भूकम्प प्रभावितहरुका लागि २ हजार थान ब्ल्याङ्केट पठायो


काठमाडौँ — काठमाडौं महानगरपालिकाले जाजरकोट भूकम्पका प्रभावितहरुका लागि २ हजार थान ब्ल्याङ्केट पठाएको छ । काठमाडौंले २ हजार घर परिवारका लागि खाद्यान्न, औषधि तथा सफाइ सामग्री पनि पठाउने तयारी गरेको छ । नेपाली सेनाको स्काइ ट्रकबाट ब्ल्याङ्केट पठाइएको हो भने राहत सामग्री स्थल मार्गबाट पठाउने तयारी गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

महानगरको विपद व्यवस्थापन विभागका प्रमुख गंगाधर गौतमका अनुसार भूकम्प प्रभावित क्षेत्रमा प्रति परिवार ५ किलो चामल, २ किलो चिउरा, १ किलो दाल, १ किलो नुन र एक लिटर खाने तेल पठाइनेछ । सरसफाइ तथा औषधिजन्य सामग्रीमा ५०० एमएलको सेनिटाइजर, २ वटा हात धुने साबुन, एउटा पानी शुद्धीकरण गर्ने प्युरिफायर झोल, १ प्याकेट सेनिटरी प्याड, ५ प्याकेट जीवनजल, २ फाइल सिटामोल र फोहोर राख्नका लागि ठूलो प्लास्टिक झोलाको एक प्याकेट पठाउने तयारी गरिएको छ गौतमले भने ।

राहत सहयोगसँगै प्राविधिक सहयोग आवश्यक परे काठमाडौँ महानगरपालिकाले उपलब्ध गराउने नगर प्रमुख बालेन शाहले बताएका छन् । शुक्रबार राति गएको भूकम्पले रुकुम पश्चिममा २ हजार १३६ घर पूर्ण क्षति भएका छन् । २ हजार ६४२ आंशिक र ४ हजार ६७० सामान्य क्षति भएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० नमराज भट्टराईका अनुसार प्रारम्भिक रुपमा संकलित विवरण अनुसार भूकम्पले रुकुम पश्चिममा २ अर्ब ४५ करोड ५ लाख रुपैयाँको क्षति भएको छ । क्षतिको विवरण संकलन भएकाले अझै बढ्न सक्ने उनको भनाइ छ ।