Breaking

मैदानमा घरेलु दर्शक र प्रधानमन्त्री, उपाधि जित्न चुक्यो नेपाल, रोहितको अर्धसतक


काठमाडौँ– आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको उपाधि ओमानले हात पारेका छ । सुपर ओभरमा घरेलु टोली नेपाललाई हराउँदै ओमानले उपाधि उचालेको हो । घरेलु टोली नेपाललाई स्तब्ध पार्दै पाहुना टोली ओमानले टी–२० विश्वकप छनोटको उपाधि जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको रोमाञ्चक फाइनल खेलमा नेपाललाई ‘सुपर ओभर’मा हराउँदै ओमानले उपाधि आफ्नो पोल्टामा पारेको हो । घरेलु मैदानमा हजारौं दर्शकको साथ र समर्थन बटुलेर मैदान छिरेका नेपालका खेलडी अन्ततः सुपर ओभरमा पुगेर ओमानसंग चुके । यद्यपी नेपालको प्रयास सम्झन योग्य छ ।

नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतीमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभर फाल्न आएका अविनाश बोहराले महंगो बलिङ गर्दा तीन छक्का सहित ओमनले २२ रनको लक्ष प्रस्तुत गरेको थियो । तर, ओमानका बिलाल खानले सुपर ओभरमा कसिलो बलिङ गर्दै पहिलो बलमा नै कुशल भुर्तेलाई पेभेलियन फर्काएपछि दवावमा परेको नेपालले बाँकी बलमा १० रनमात्र बनाउदा उपाधि घरैमा राख्नबाट बञ्चित भएको हो । उपाधि भिडन्त निक्कै रोमाञ्चक र प्रतिष्पर्धात्म बने पनि उपाधि जितेर भूकम्पपीडितलाई समर्पण गर्ने नेपालको चाहाना अधुरै रह्यो ।

कप्तान रोहित पौडेलको अविजित ५२ रनको इनिङ्समा गुल्सन झाले २५ बलमा ५ चौका र ४ छक्काको मदतले ५४ रनको विस्फोटक व्याटिङ गरेका थिए । ओपनर भुर्तेलले ३१ रन बनाउँदा आसिफ शेखले ६, सन्दीप जोराले १० र कुशल मल्लले ३ रन बनाएका थिए । विवेक यादव १ रनमा आउट हुँदा करन केसी २० रनमा अविजित रहँदै नेपालले ६ विकेटको क्षतीमा १८४ बनाएको थियो ।

ओमानका बिलाल खानले ३ तथा आकिब इलियासले २ र जिशान मकसुदले १ विकेट लिएका थिए । जवाफी व्याटिङमा आएको ओमानका लागि ओपनर कश्यप प्रजापतीले ६३, आकिब इलियासले ३३ रन जोडेका थिए । त्यस्तै कप्तान जिसान मक्सुदले २६ रन बनाउँदा मोहम्मद नदिमले अविजित २४ रन बनाएका थिए । नेपालका लागि सन्दीप लामिछाने र करन केसीले समान २ तथा सोमपाल कामी, गुल्सन, अविनाश र विवेक यादवले समान एक विकेट लिएका थिए । प्रतियोगितामा नेपालले सुरु देखि नै राम्रो प्रदर्शन गर्दै आए पनि अन्तिममा सोचे जस्तो नतीजा भने हात पार्नबाट चुकेको कप्तानको भनाई छ ।

नेपाली टिमलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मैदानमा नै पुगे पनि नतीजा नेपालको पोल्टामा पर्न सकेन । योसँगै नेपाल अपराजित ओमानविरुद्धको दुवै खेलमा जितविहीन बन्न बाध्य बनेको छ । यसअघिको समूह चरणको खेलमा पनि ओमानसँग नेपाल ५ रनले पराजित भएको थियो । नेपालले समूह चरणमा ओमानसँग व्योहोरेको हारको बदला लिन नसके पनि आगामी वर्ष वेष्ट ईण्डिज र अमेरिकामा हुने टी ट्वान्टी विश्वकपमा भने छनोट भईसकेको छ । सेमीफाइनलमा ओमानले बहराईन र नेपालले युएईलाई हराउँदै विश्वकपको टिकट काट्न सफल भएको हो ।