Breaking

कोशीमा पनि ढोक्सा थाप्न गठबन्धन सफल, उल्टियो ओलीको चाल, शेखरले दिए धोका


काठमाडौँ — नेपाली राजनीतिको चतुर खेलाडीमा गनिने एमाले अध्यक्ष केपी शर्मा ओलीको कोशी रणनीतिमा धक्का लागेको छ । गठबन्धनको प्रमुख दल कांग्रेसबाट विद्रोह गराउँदै आफू अनुकूल सरकार बनाउन कोशीमा एमालेले खेलेको चालमा गठबन्धनले ढोक्सा थाप्दा त्यही चाल उल्टो परेको छ । कोशीका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार एमालेको असहमतिकै बिच माओवादी र एकीकृत समाजवादीका प्रदेश सदस्यलाई मन्त्रिमण्डलमा सामले गरेपछि एमाले रुष्ट हुँदै सरकारबाट बाहिरिएको छ । एमालेकै बुई चढेर मुख्यमन्त्री बनेका कांग्रेसको शेखर समूहका कार्कीले एमालेलाई लात हान्दै गठबन्धनमै फर्किएपछि शनिबार मन्त्री रामबहादुर राना मगरले मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

केन्द्र र अन्य प्रदेशमा पनि सत्ताविहीन भएको एमालेले कोशीबाट पनि हात धुनु पर्दा राजनीतिका चतुर खेलाडीमा गनिने एमाले अध्यक्ष केपी शर्मा ओली पाइलै पिच्छे असफल बनेका छन् । कांग्रेसले केन्द्रमा ढोक्सा थापेर २ महिनामा नै सत्ताबाट बहिर्गमनको बाटो देखाएको एमालेलाई कोशीमा पनि गठबन्धनले ढोक्सा थाप्दा २० दिनमा त्यही अवस्थामा पु¥याएको छ । शेरबहादुर देउवासँग असन्तुष्ट जनाउने शेखरलाई हातमा लिएर केन्द्रको गठबन्धनमा धावा बोल्न खोजेका ओलीको यो अस्त्र पनि प्रचण्ड र माधवकुमार नेपालको अघि निरीह सावित भयो । अन्य प्रदेशमा पनि कोशीकै बाटो अबलम्बन गर्ने र गठबन्धन ढाल्ने एमाले नेताहरूको रणनीतिले फेल खाएको छ ।

एमालेले कोशी सरकारमा माओवादीलाई कुनै पनि हालतमा सहभागी गराउन नहुने भनेर दबाब दिँदै आए पनि कार्कीलाई भने एमाले भन्दा गठबन्धन नै प्यारो हुँदा ओलीमाथि नै ब्याक फायर भएको छ । कांग्रेसमा शेखरले गरेको विद्रोहलाई नै आफ्नो राजनीतिक चाल मानेको एमालेलाई त्यही चाल उल्टो परेको छ । कोशीमा माछो माछो भ्यागुतो बनेको एमालेलाई चारैतिरबाट आक्रमण गरि धपाउन लागिपरेको भन्दै ओली आक्रोशित छन् ।

केन्द्रमा होस् वा प्रदेशमा एकपछि अर्काे गर्दै एमालेको अस्त्र असफल भएको छ । कोशीमा आफ्नो जित भएको एमालेको दावी महिना दिन पनि टिक्न सकेन । कार्की मुख्यमन्त्री नियुक्त हुनुपूर्व असोज २७ गते बिहान भएको एउटा चिर्कटोको सहमतिले कोशीमा पनि नयाँ समीकरण बनेको छ ।

पश्चिम नेपाल भूकम्पका कारण शोक र भयमा डुबिरहँदा पूर्वी नेपालमा भने राजनीतिक खिँचातानी झन् बढ्दो छ । शुक्रबार मध्यराति जाजरकोट र रुकुममा भूकम्पले गर्दा ठूलो जन–धनको क्षती भईरहेको अवस्थामा त्यसको १२ घण्टा पनि नबित्दै बल्ल स्थिर हुने आँकलन गरिएको कोशी प्रदेश सरकार नेतृत्व गर्नेहरूको अस्तित्वको लडाईका कारण फेरि अस्थिरताको बाटोमा अघि बढेको छ ।