विदेश

युद्ध झन् आक्रामक, हमास नसकी रोकिन्न, युद्धविराम अलपत्र


काठमाडौँ — इजरायल र हमासबीच द्वन्द्व सुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको संख्या नौ हजार नाघेको छ । युद्धविराम गर्न दबाब आए पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले तत्काल युद्धविरामको कुनै संभावना नरहेको प्रष्ट पारेका छन् । अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु हमास समुहले प्यालेस्टाइन मुक्तिको लागि गाजा पट्टीबाट इजरायलमा रकेट ब्यारेज र सवारी साधनहरूद्वारा ठुलो आक्रमण सुरु गरे ।

त्यो आक्रमणमा इजरायली नागरिकको कम्तिमा १४ सय जनाको मृत्यु भयो । हमास लडाकु समूहले गरेको आक्रमणपछि इजरायलले गाजामा अहिले लगातार आक्रमण गरिरहेको छ । जसमा गाजामा मृत्यु हुनेको संख्या तीन हजार ७६० बालबालिका र दुई हजार ३२६ महिलासहित नौ हजार ६१ पुगेको छ । घाइतेको सङ्या ३२ हजार नाघेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गाजामा आक्रमण रोक्न इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । त्यहाँ फसेका र समस्यामा परेका मानिसलाई राहत सामग्री पुर्याउन इजरायल र हमासबीचको लडाइँ रोक्न अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको हो । गाजामा बिजुली, पानी र इन्धनको आपूर्ति बन्द गरिएको छ । मानिसहरु निकै कठिन अवस्थामा बाँच्न बाध्य छन् ।

अमेरिका, अस्ट्रेलिया र क्यानडा जस्ता देशले मानवीय आधारमा युद्ध रोक्न अपील गरेका छन् । इजरायलले गाजामा भीषण बमबारी गरिरहँदा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन तेस्रो पटक इजरायल पुगेका छन् । उनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र राष्ट्रपति आइज्याक हेरजोगसँग भेट गरेका छन् । ब्लिन्केनले इजरायली नेताहरुसँग गाजामा मानवीय क्षति कम गर्न आह्वान गरेका छन् । इजरायलले गाजामा नरसंहार मच्चाइरहेको र अमेरिका मूकदर्शक बनेको भन्दै विश्वव्यापी आलोचना भइरहेका बेला ब्लिन्केन इजरायल पुगेका हुन् । तर यता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनको गाजापट्टीमा तत्काल युद्धविरामको कुनै संभावना नरहेको प्रष्ट पारेका छन् ।

हमास लडाकुले इजरायली बन्धकहरूलाई रिहा नगरेसम्म गाजामा हमाससँग अस्थायी युद्धविरामको कुनै संभावना नरहेको बताएका छन् । लगातार हमासमाथी आक्रमण गरिरहेको इजरायलले प्यालेस्टाइनको गाजा शहरलाई आफ्नो सेनाले घेरा हालेको दाबी गरेको छ ।

गाजा शहरको सम्पूर्ण भागलाई आफ्नो सेनाले घेरा हालेको दाबी गर्दै इजरायलले हमास लडाकु समुहको अखडालाई निशाना बनाइरहेको दाबी गरेका छन् । हमासको सुरक्षा पोष्ट, मुख्यालय र अन्य पूर्वाधारहरुमाथि इजरायली सेनाले भिषण बमबारी गरिरहेको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हमासबीचको लडाइँ पाँचौं हप्तामा प्रवेश गर्नै लाग्दा युद्ध झनै चर्किने सम्भावना छ ।