Breaking

भूकम्प प्रभावितलाई उद्धार, उपचार, राहत र पुनःस्थापनामा कुनै पनि कमी आउन नदिने सरकार प्रतिबद्धता


काठमाडौँ — सरकारले भूकम्प प्रभावितलाई तत्काल उद्धार, उपचार, राहत र पुनःस्थापनालाई प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारका प्रवक्ता रेखा शर्माले आज एक विज्ञप्ति जारी गरी उद्धार, उपचार, राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रभावितस्थल पुगेर पहलकदमी लिइसक्नुभएको बताएकी छिन् । उद्धार, उपचार, राहत र पुनःस्थापनाका सन्दर्भमा सूचना तथा सञ्चारको क्षेत्रबाट कुनै पनि कमी आउन नदिने सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले प्रतिबद्धता व्यक्त गरिन् ।

सङ्कटको बेलामा आमसञ्चारका माध्यम तथा सामाजिक सञ्जालबाट सत्य तथ्य सूचना प्रवाह गर्नु सबैको दायित्व रहने स्मरण गराउँदै उनले जोखिम मोलेर प्रभावितस्थलबाट रिपोर्टिङ गरिरहेका सम्पूर्ण सञ्चारकर्मीप्रति धन्यवादसहित आभार व्यक्त गरिन् । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट भएको ठूलो जनधनको क्षतिले मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख छ । मन्त्री शर्माले दुःखद् घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी छिन् ।

साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छिन् । भूकम्पका कारण केही सञ्चारमाध्यममा समेत क्षति पुग्न गएकामा मन्त्री शर्माले दुःख व्यक्त गरिन्। मन्त्रालयले दुःखको यो अवस्थामा मन्त्रालयअन्तर्गतका निकायबाट नियमित र सहुलियतरूपमा सेवा प्रवाह गर्न, सही र सत्यतथ्य सूचना प्रवाह गर्न तथा उद्धार, उपचार र राहत कार्यमा समेत सहयोग गर्न आग्रह गरेको छ ।

यस्तै निजी क्षेत्रका सेवा प्रदायकलाई पनि सामाजिक उत्तरदायित्व वहन गर्दै आफ्नो क्षेत्रबाट आवश्यक सहयोगका लागि अपिल गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकसँग छलफल गरी भूकम्पका कारण दूरसञ्चार सेवामा परेको असरको समीक्षा गर्दै हाल सो क्षेत्रमा सेवा अवरुद्ध नभएको र उप्रान्त आउनसक्ने पराकम्पनबाट सुरक्षित गरी सेवा प्रदायकलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको मन्त्री शर्माले जानकारी दिइन् ।