Breaking

नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरियो


काठमाडौँ– कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । मुख्यमन्त्री केदार कार्कीले एमालेसँगको सहमतिविपरीत गठबन्धनलाई सरकारमा ल्याएपछि एमाले मन्त्री राम रानाले राजीनामा दिनुभएको छ । मन्त्रिपरिषद् विस्तारमा असहमति जनाउँदै पार्टीको निर्णयअनुसार रानाले आज मुख्यमन्त्री कार्कीसमक्ष राजीनामा बुझाउनुभएको हो । योसँगै कोशीबाट नेकपा एमाले औपचारिकरूपमा बाहिरिएको छ ।

हिजोमात्र मुख्यमन्त्री केदार कार्कीले माओवादी र नेकपा एसका एक–एकजनालाई मन्त्री बनाउनुभएको थियो । माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जवेगु मन्त्री थपिएका छन् । गठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई अघि सारेपछि कांग्रेसबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सुरूमा एमालेका राम राना र आफ्नो समूह निकटका कांग्रेसका शमसेर राईलाई मन्त्री बनाउनुभएको थियो । पछि गठबन्धनका दलहरूले भने कार्कीलाई विश्वासको मत दिएर सर्वदलीय सरकारको रटान लगाएका थिए ।